
काठमाडौं ।
टेस्ला, बीवाईडी र एक्सपेङ्ग जस्ता युवा कम्पनीहरू बाहेक अन्य पुराना र चर्चित कम्पनिहरुले समेत इलेक्ट्रिक भेहिकल्समा काम गरिरहेका छन्।
यसैबीच पोर्शले फुल्ली इलेक्ट्रिक (अर्थात पूर्णरूपमा विद्युतीय) बक्स्टर मोडलमा काम गरिरहेको र यसलाई अर्को वर्षसम्ममा लन्च गर्ने योजना रहेको उल्लेख छ।
स्याक्रिलेज मोटर्स नामक कम्पनीले सन् १९९२ को पोर्श ९११ लाई टेस्लाको मोटर प्रयोग गरी इलेक्ट्रिक कारमा परिणत गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
क्लासिक पोर्श ९११ एक रियर इन्जिनयुक्त (पछाडि इन्जिन भएको), रियर–ह्वील ड्राइभ स्पोर्ट्स कार भएको र यसलाई पोर्शद्वारा १९६३ देखि १९८९ सम्मको बिचमा निर्माण गरिएको थियो।
यो कार ‘वान अफ द मस्ट आईकनिक स्पोर्ट्स कार अफ अल टाईम’ मानिनुका साथै र धेरै पुरस्कारहरू पनि जितेको उल्लेख छ। त्यसैगरी ९११ विभिन्न प्रकारका बडि स्टाइलहरूमा उपलब्ध हुने गरेको र एयर–कूल्ड, हरिजन्टल्ली–अपोज्ड ६–सिलिन्डर इन्जिन्सद्वारा पावर्ड (संचालित) भएको उल्लेख गरिएको छ। साथै उक्त ९११ आफ्नो ह्यान्डलिंङ, पर्फमेन्स र रिलायबिलिटीको लागी परिचित रहेको उल्लेख छ। अहिले उक्त ९११ स्पोर्ट्स कारमा विद्युतीय मोटर समावेश गरिएको छ।
स्याक्रिलेज मोटर्स नामक अमेरिकी इलेक्ट्रिक भेहिकल स्टार्ट–अपले ‘ब्ल्याकबर्ड’ को रुपमा क्लासिक पोर्श ९११ को अनावरण गरेको छ। उक्त नयाँ पोर्श ९११ मा परम्परागत ६–सिलिन्डर पेट्रोल इन्जिनको सट्टामा टेस्ला मोडल एस मोटर समावेश गरिएको छ। साथै सो मोटरले लगभग ३७३ किलोवाट (५०० हर्सपावर) र ५०० एनएम टर्क उत्पादन गर्नेछ।
त्यसैगरी कारमा ६२ किलोवाट आवर ब्याट्री प्याक समावेश गरिएको र सो ब्याट्रीले लगभग ३२० किलोमिटरको ड्राइभिङ रेञ्ज प्रदान गर्ने उल्लेख छ।
स्याक्रिलेज मोटर्सका अनुसार ब्ल्याकबर्डले ४ सेकेन्डमा नै ० देखि ६० माइल प्रतिघण्टाको गति लिन सक्ने क्षमता राख्ने जनाइएको छ। साथै यसको टप स्पिड १८० एमपीएच भन्दा बढी रहेको उल्लेख गरिएको छ।
ब्ल्याकबर्ड एक सीमित संस्करणको कार भएको हुनाले केवल १० ओटा मात्र निमार्ण गरिने र प्रत्येक कारको मूल्य ४००,००० अमेरिकी डलर हुनेछ।
प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार