
काठमाडौं ।
नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ।
काठमाडौँ उपत्यका भित्र कतै सामानहरु पुर्याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए।
“बिर्सिनु त स्वाभाविक हो ! पठाओ पार्सल छँदै छ नि !” भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो। पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिने बताईएको छ।
पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल सेवा पनि राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको थापाले जानकारी दिए।
पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन्। सामानहरू पार्सल गर्दा केही हानीरनोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुने थापाले बताए ।
चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ । केही समयदेखि परिक्षणमा रहेको यो सेवा ९ अगस्टदेखि पूर्ण रुपमा सुचारु भएको हो।
यसैबीच पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा भएको छ । सन् २०१८ सेप्टेम्बदेखि बाइकमा राइड सेयरिङ सेवा सुरू गरेको पठाओले सन् २०१९ अगस्ट ९ देखि नेपालमा कार लाइट सुरू गरेको थियो।
हाल काठमाडौं उपत्यकामा आठ हजार बढी ट्याक्सी पठाओमा आवद्ध छन्।
प्रकाशित: २४ श्रावण २०८०, बुधबार