
काठमाडौं ।
सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग तथा व्यवसायले विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार विदेशी विनियम सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग र व्यवसायलाई विदेशी मुद्रा सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो।
सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग तथा व्यवसायले विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनाको लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न, सफ्टवेयर, प्रोग्राम, उपकरण खरिद गरी विदेशर्म जाडन गर्न विदेशी मुद्रा सटही सुविधा पाउने भएका हुन्।
यस्ता उद्योग तथा व्यवसायले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीमामा रही राष्ट्र बैंकले तोकेको शर्त पूरा गरेमा विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन्।
सटही सुविधाका लागि उद्योग तथा कम्पनीले अघिल्लो आर्थिक वर्ष सूचना प्रविधि लगायत सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा खुल्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण र परिवत्र्य विदेशी मुद्राको बैंक खाताको विवरण अनिवार्य बुझाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
भारतमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने निर्यातकर्ताको हकमा नेपाली रूपैयाँ खाताको विवरण र सम्बन्धित बैंकले जारी गरेको भारु आर्जन सम्बन्धी प्रमाण पेश गर्नुपर्ने हुन्छ। यस्तै विदेशी मुद्राको सुविधा माग गरिएको रकम समेत खुल्ने नेपाल सरकारको सम्बन्धित निकायको सिफारिस आवश्यक पर्छ।
उक्त सुविधकाको लागि विदेशमा खाता खोल्न राष्ट्र बैंकको छुट्टै स्वीकृति आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ। यस्तै प्रचलित कानुनी व्यवस्थाहरु पालना हुने सम्बन्धमा निवेदकबाट स्वः घोषणा गर्नुपर्ने हुन्छ।
विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म सुविधा पाउने भनिएपनि अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रमा उल्लेखित कर योग्य आयको २० प्रतिशत भन्दा बढी भने नपाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
प्रकाशित: २३ श्रावण २०८०, मंगलवार