
काठमाडौं ।
शाओमीले केवल पाँच मिनेटमा स्मार्टफोन पूर्ण रूपमा चार्ज गर्न सक्ने ३००वाट सुपर–फास्ट चार्जिङ टेक्नोलोजीलाई अब ठूलो मात्रामा उत्पादन गर्ने योजना बनाएको छ।
कम्पनीले हालै मात्र रेडमी नोट १२ प्रो प्लस को परिमार्जित संस्करणमा उक्त फिचर समावेश गरि प्रदर्शन गरेको थियो। साथै निकट भविष्यमा मास–प्रोड्युस्ड मोडलहरुमा यो प्रविधि लागू हुने देखिएको टिपस्टर डिजिटल च्याट स्टेशनलाई उदृत गर्दै गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
रेडमी नोट १२ प्रो प्लसको परिमार्जित संस्करणले आफ्नो ४१०० एमएएच ब्याट्रीलाई दुई मिनेटमा लगभग ५० प्रतिशत चार्ज गरेको र ३००वाट सुपर–फास्ट चार्जिङ प्रविधि प्रयोग गरेर मात्र पाँच मिनेटमा पूर्णरूपमा चार्ज गरेको बताइएको छ। टेक्नोलोजीले २९० वाटको पिक पावर प्राप्त गरेको जुन ३०० वाट स्तरको नजिकको भएको उल्लेख गरिएको छ।
रेडमी ३००वाट सुपर–फास्ट चार्जिङ टेक्नोलोजी चार्जरदेखि लिएर फोनको चार्जिङ आर्किटेक्चरदेखि ब्याट्रीसम्मको अभिनव डिजाइन र नयाँ सामग्रीहरूको परिणाम भएको बताइएको छ।
चार्जरले चौथो पुस्ताको एकीकृत जीएएन (गैलियम नाइट्राइड) सलुसन प्रयोग गरेको र यसले शाओमीको अघिल्लो २१०वाट चार्जरको आकारलाई कायम राख्दै पावरमा ४३ प्रतिशत वृद्धिको साथ, २.३१ डब्लू÷सीएम³ को पावर घनत्व प्राप्त गरेको उल्लेख गरिएको छ।
चार्जिङ आर्किटेक्चरमा ९० प्रतिशत अधिकतम रूपान्तरण दक्षताको साथ अनुकूलित ६ः२ चार्ज पम्प चिप समावेश गरिएको बताइएको छ। यसले चार्जिङ इनपुट पाथमा लार्ज करेन्ट हिटिङ्गको समस्या समाधान गर्ने र स्रोतबाट चार्जिङ तापक्रम वृद्धिलाई घटाउने उल्लेख गरिएको छ। साथै २ मिनेट भन्दा बढी दिगो पिक पावरको लागि अनुमति दिदैँ केन्द्रित तातो उत्पादनलाई प्रभावकारी रूपमा रोक्नको लागि धेरै चार्ज पम्पहरू विकेन्द्रीकृत रूपरेखामा व्यवस्थित गरिएको बताइएको छ।
रेडमी ३००वाट सुपर–फास्ट चार्जिङ टेक्नोलोजी छिटो चार्जिङ टेक्नोलोजीमा एक सफलता भएको र यसले स्मार्टफोन प्रयोग गर्ने तरिकालाई परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ। केवल पाँच मिनेटमा स्मार्टफोन पूर्ण रूपमा चार्ज गर्ने क्षमताले गर्दा प्रयोगकर्ताहरूले अब ब्याट्री सकिएर चिन्ता लिनु नपर्ने बताइएको छ। यस प्रविधिले अन्य डिभाइसहरूमा जस्तै ल्यापटप र विद्युतीय सवारीसाधनहरूमा पनि प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ।
लन्च मिति र कुन विशिष्ट मोडेलमा यस फिचरलाई समावेश गरिने हो भन्ने बारेमा हालको अज्ञात नै रहेको बताइएको छ। तर परिमार्जित रेडमी नोट १२ प्रो प्लसको सफल प्रदर्शनले गर्दा यस प्रविधिलाई ठूलो मात्रामा उत्पादन गरिएका स्मार्टफोनहरूमा देखिनु यो केवल अब समयको कुरा भएको उल्लेख गरिएको छ।
प्रकाशित: १३ चैत्र २०७९, सोमबार