
काठमाडौं ।
नेपालमा भुक्तानी सेवा वालेटको प्रयोगकर्ता निरन्तर रुपमा बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले माघ मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वालेट प्रयोगकर्ता १ करोड ६१ लाख २६ हजार ४३३ पुगेको देखिन्छ।
पुस महिनामा वालेट प्रयोगकर्ता १ करोड ५९ लाख ६२ हजार ९०७ थिए। एक महिनाको अवधिमा १ लाख ६३ हजार ५२६ वालेट प्रयोगकर्ता थपिएका छन्। गत आव २०७८÷७९ को माघसम्म वालेट प्रयोगकर्ता १ करोड १० लाख ११ हजार ९३३ थिए। एक वर्षको अवधिमा वालेट प्रयोग गर्नेको संखया ४६ प्रतिशतले बढेको छ।
माघ महिनामा वालेटबाट १ करोड ६९ लाख ६० हजार ८२८ कारोबार हुँदा १७ अर्ब ११ करोड ८० लाख भुक्तानी भएको राष्ट्र बैंकको प्रतिवेदनमा देखिन्छ। गत आवको माघमा वालेटबाट १४ अर्ब ५३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
राष्ट्र बैंकका अनुसार नेपालमा २९ ओटा वालेट सेवा प्रदायकहरु सञ्चालनमा रहेका छन्।
सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।
मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।
प्रकाशित: २ चैत्र २०७९, बिहीबार