
काठमाडौं ।
भारतको सरकारी दूरसञ्चार कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले अप्रिलमा व्यावसायिक फोरजी सेवा सुरु गर्ने लक्ष्य राखेको छ। यसका लागि कम्पनीले देशको सबैभन्दा ठूलो आईटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) को नेतृत्वमा रहेको कन्सोर्टियमबाट उपकरण लिन थालेको छ।
भारतमा अन्य निजी मोबाइल सेवा प्रदायकले फाइभजी नेटवर्क बिस्तार गरिरहँदा सरकारी कम्पनी भने भर्खर फोरजी रोलआउट योजनामा लागेको छ।
हालसालै भारतीय दूरसंचार मन्त्री अश्विनी वैष्णवले बीएसएनएलले ४जी सेवाहरूको लागि पहिलो स्वदेशी ‘ईनोडबी (eNodeB)’ हार्डवेयर स्थापना गरेको भनेका थिए। यो फोरजी प्रविधिको साथ मोबाइल र सेलुलर नेटवर्कहरू बीच सञ्चारको लागि प्रयोग गरिने वायरलेस बेस स्टेशन हो।
मिडिया रिपोर्टमा एक सरकारी अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, “केन्द्र सरकारले मार्चको अन्त्यसम्ममा एक लाख फोरजी साइटहरूको टेन्डर पूरा गर्न केन्द्र सरकारबाट स्वीकृति प्राप्त गर्न सक्छ। कम्पनीले यी सेवाहरूको लागि पञ्जाबबाट ट्रायल सुरु गर्नेछ।”
गत महिना, बीएसएनएलको बोर्डले टीसीएस नेतृत्वको कन्सोर्टियमबाट उपकरणहरूको लागि लगभग २४,५०० करोड भारतीय रुपैयाँको सम्झौतालाई अनुमोदन गर्यो। यसका लागि मन्त्री समूहबाट स्वीकृति हुन बाँकी छ। गत वर्षको अप्रिलदेखि डिसेम्बरसम्ममा कम्पनीको राजस्व १३ सर्कलमा घटेको थियो। यी सर्कलका प्रमुख महाप्रबन्धकहरू (सीजीएमहरु) लाई स्थितिको सामना गर्न तत्काल कदम चाल्न भनिएको छ।
एक मिडिया रिपोर्टमा चालू आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको कुल राजस्व वार्षिक रूपमा झण्डै १४ प्रतिशतले बढेर १२,७४८ करोड भारतीय रुपैयाँ पुगेको उल्लेख छ। तर, खुद घाटा फराकिलो हुँदा कम्पनी मारमा परेको छ।
प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार