
काठमाडौं ।
नेपालको आकाशमा हवाईजहाजमा उडिरहेको बेलामा समेत मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न पाइने गरी नयाँ कानून जारी भएको छ। दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ‘इनफ्लाइट कम्युनिकेसन’ सेवा (आईएफसी) सम्बन्धी अन्तरिम निर्देशन जारी गरेको हो।
प्राधिकरणले यसअघि नै नेपाली आकाशमा हवाई उडानमा मोबाइल तथा इन्टरनेट सेवा प्रयोग सकिने व्यवस्था खुला गरिसकेको थियो। हाल उक्त व्यवस्थालाई नियमन गर्ने गरी निर्देशिका ल्याएको हो।
जसअनुसार अनुमति प्राप्त विमान कम्पनीहरूले नेपाली भूभाग माथि रहँदा आईएफसी प्रदायकले नेपालको दूरसञ्चार सेवामा कुनै अवरोध गर्न नहुने र आकाशमा हवाइजहाजमा १० हजार फिट माथि मात्रै इन्टरनेट तथा मोबाइल सेवा यात्रुहरुलाई प्रदान गर्न सक्नेछन्।
यसका साथै नेपाली भूभागभित्र जमिनमाथि १० हजार फिट तल, जमिनमा गुडिरहँदा, उडान भर्दा वा अवतरणको समयमा भने आईएफसी सेवा दिन पाईनेछैन् र स्थानीय दूरसञ्चार सेवा प्रयोग हुनेछ।
यस्तै नेपालमा दर्ता भएका विमानहरूले विदेशी भूभाग तथा आकाशमा त्यहाँको नियम समेत पालना गर्नुपर्नेछ।
निर्देशिकाअनुसार विदेशमा दर्ता भएका र नेपालमा दर्ता भएका विमानहरुका लागि छुट्टाछुट्टै वर्गिकरण गरी नियम लागू हुनेछ। तर दुवै किसिमका सेवामा आईएसएम ब्यान्ड वा लाइसेन्स लिनुपर्ने ब्यान्डको फ्रिक्वेन्सी प्रयोग हुन सक्ने उल्लेख छ।
प्राधिकरणको अन्तरिम निर्देशन अनुसार नेपालमा दर्ता भएका नेपाली विमान कम्पनीहरूले आईएफसी सेवाका लागि नियामक निकाय समक्ष निवेदन दिन सक्नेछन्। उक्त निवेदनमा आफूले प्रयोग गर्ने सेवाको प्रकार, प्रयोग हुने फ्रिक्वेन्सी, प्रविधि, स्याटलाइट तथा अर्थ स्टेसनको विस्तृत विवरण र उक्त सेवाको आर्किटेक्चर तथा ब्लक डायग्राम समावेश गराउनु पर्ने हुन्छ।
त्यस्तै आईएफसी सेवाप्रदायकको प्रोफाइल, विमान कम्पनी र आईएफसी प्रदायकबीच भएको समझदारीपत्र, नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस लगायतका कागजात समेत संलग्न गराउनु पर्नेछ।
उक्त निवेदनको आधारमा प्राधिकरणले आईएफसी सेवाका लागि नो अब्जेक्सन प्रमाणपत्र उपलब्ध गराउनेछ।
यसका साथै विदेशमा दर्ता भएका विमान कम्पनीको लागि भने आईएफसी सेवा प्रदायकहरूले समेत प्राधिकरणबाट नो अब्जेक्सन सर्टिफिकेट लिएर सञ्चार सेवा उपलब्ध गराउन सक्नेछन।
विदेशी विमान कम्पनीहरूले समेत सेवाको लागि निवेदन दिँदा सेवाको प्रकार, प्रयोग हुने फ्रिक्वेन्सी, प्रविधि, स्याटलाइट तथा अर्थ स्टेसनको विवरण, आईएफसी सेवा प्रदायकको प्रोफाइल, एयरलाइन्सले आफ्नो देशमा त्यस्तो सेवा प्रदान गर्न प्राप्त गरेको स्वीकृति जस्ता विवरणहरू प्राधिकरणमा निवेदनसँगै दिनुपर्नेछ।
विमानभित्र यस्तो सेवा संचालन गर्नको लागि विशेष उपकरणहरु जडान गरिएका हुन्छन्। यस्तो सेवा धेरै जसो स्याटेलाइटमा आधारित हुने गर्दछन्। नेपाली विमान कम्पनीहरुले हालसम्म यस्तो सेवा उपलब्ध गराएका छैनन्।
पछिल्लो समय विश्वभर यात्रुहरुलाई विशेष सेवा दिनेगरी हवाई कम्पनीहरुले इन्टरनेटका साथै ५जी सेवा समेत दिईरहेका छन्।
Interim-Directives-related-to-IFC-Services (1)प्रकाशित: २५ माघ २०७९, बुधबार