चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

  • Technology Khabar | ३० आश्विन २०८३, शुक्रबार
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
फाइल तस्बिर

काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्।

पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ। यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ।

यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो। अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ।

बिहीबार चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले इ–टिकटिङ प्रणालीको उद्घाटन गरेका हुन्।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनले इ–टिकटिङ सुरु गर्न प्रशासनले लामो समयदेखि प्रयास गर्दै आएको बताए। शिवपुरी राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उनको भनाइ छ।

उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाट सङ्कलन हुने र त्यही अनुपातमा पर्यटक पनि यस क्षेत्रबाट निकुञ्जभित्र प्रवेश गर्ने भएकाले यहाँ इ–टिकटिङ अति आवश्यक देखिएको हो।’

उनले नयाँ प्रणालीबाट पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्ने बताए। प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने उनले जानकारी दिए।

सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा इ–टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताए। दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उनले उल्लेख गरे।

उनले भने, ‘प्रविधि प्रयोग गर्दा सुरुमा केही अन्योल हुन सक्छ। तर, मोबाइलमा विभिन्न एप चलाउने हामीले मोबाइल बैंकिङ प्रयोग गर्न पनि हिचकिचाउनु हुँदैन। यो सुरुआती चरण हो। प्राविधिक रूपमा देखिने समस्या समाधान गर्दै प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउनुपर्छ।’

उनले इ–टिकटिङ प्रणालीलाई थप प्रभावकारी बनाउन पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेट्नुपर्नेमा जोड दिए। टिकटिङ प्रणालीमा पर्यटन व्यवसायीको संरक्षणप्रतिको योगदान र प्रतिबद्धता झल्किने विवरणसमेत समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

सांसद ढकालले निकुञ्ज प्रवेशका लागि काटिएको टिकट एक दिन मात्रै मान्य हुने व्यवस्थालाई परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको पनि जानकारी दिए।–रासस

प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

  • Technology Khabar
  • ३० आश्विन २०८३, शुक्रबार