भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइने अर्थमन्त्री पौडेलको भनाई

Technology Khabar १२ माघ २०७९, बिहीबार

भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइने अर्थमन्त्री पौडेलको भनाई
फाइल तस्विर

काठमाडौं ।

विभिन्न कार्यक्रमको आयोजना गरी आज (बिहीबार) ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ। भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए।

भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिए।

उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्नुहुँदै मन्त्री पौडेलले वैध व्यापारको प्रवर्द्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराए।

अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तदअनुरुप काम गर्नुपर्नेमा जोड दिए।

प्राचीनकालदेखि राजस्व सङ्कलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने एवम् राजस्व चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ थियो।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया