सोलार प्यानलयुक्त ३०५ किमी रेन्जको सोनो सायन ईभी, सूर्यको किरणबाट चार्ज र संचालन हुने

  • Technology Khabar | ६ कार्तिक २०७९, आईतवार
सोलार प्यानलयुक्त ३०५ किमी रेन्जको सोनो सायन ईभी, सूर्यको किरणबाट चार्ज र संचालन हुने

काठमाडौं ।

सोनो मोटर्स नामको कम्पनीले यस्तो कार बनाएको छ, जसले ईभी चार्जिङको बारेमा तपाईको चिन्तालाई जराबाट नै हटाउन सक्छ। हामी यहाँ सायन ईभी (Sion EV) को बारेमा कुरा गर्दैछौं, जुन सोलार प्यानलले सुसज्जित कार हो। तपाईंले यसअघि पनि केही यस्ता गाडीको बारेमा सुन्नु भएको होला, जसको छतमा सोलार प्यानल जडान गरिएको छ। तर सायन ईभीको विशेष भनेको यसको अधिकांश बडी प्यानलमा सोलार सेलहरू जडान गरिएको छ।

जर्मनीमा आधारित सोनो मोटर्सले हालै आफ्नो सायन ईभी ल्याएको छ, जुन किफायती स्व-चार्जिङ इलेक्ट्रिक गाडी हो। यसले सौर्य उर्जाबाट आफूलाई चार्ज गर्न सक्षम छ। यस इलेक्ट्रिक कारको बडी प्यानलमा रहेका सोलार सेलहरूले यसलाई सूर्यको ऊर्जा अवशोषित गर्न मद्दत गर्छन्। इभीको मूल्य २५,००० अमेरिकी डलर छ र यो २०२३ मा बिक्रीमा जाने सम्भावना छ।

यो मिनी कार वा दुई सिटे कार होइन, तर यसले परिवारलाई आरामसँग बोक्न सक्छ, किनकि सायन ईभी एक एमपीभी हो।

यसमा प्रयोग गरिएको टेक्नोलोजीको बारेमा कुरा गर्दा, सायन ईभीमा ४५६ हाफ सेलहरू छन्, जुन यसको बडीमा फिट हुन्छन्। यी सोलार सेलहरूले कारको ब्याट्री प्याकमा प्रति हप्ता २४५ किलोमिटरको दायरा जोड्ने कम्पनीको दाबी छ। यसले फास्ट चार्जिङ र स्लो चार्जिङलाई पनि सपोर्ट गर्छ।

पब्लिक फास्ट चार्जरबाट यो इलेक्ट्रिक कार ३५ मिनेटभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । साथै, यसमा जडान गरिएको ५४ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले कारलाई फुल चार्जमा कुल ३०५ किलोमिटरसम्म चलाउन सक्छ।

कम्पनीको प्रविधि यतिमा मात्र सीमित छैन। सोनोले यस कारमा द्वि-दिशात्मक (बाइ-डायरेक्शनल) वालबक्स पनि दिएको छ, जसको माध्यमबाट यो कारलाई बिजुली प्लान्टको रूपमा प्रयोग गर्न सकिन्छ र घरलाई पाँच दिनसम्म पावर गर्न सकिन्छ।

यस विद्युतीय कारबाट ३.७ किलोवाट क्षमतासम्मका एप्लायन्स र डिभाइसहरूलाई पनि पावर दिन सकिन्छ। यति मात्र होइन, यस मार्फत तपाईले अन्य ईभी पनि चार्ज गर्न सक्नुहुन्छ।

प्रकाशित: ६ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार