
काठमाडौं ।
अर्थमन्त्री जर्नादन शर्माले हाइड्रोजनबाट चल्ने गाडी बारेमा सोच्नु पर्ने बताएका छन्। नाडा ईभी एक्स्पोको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले अहिले ईभीको चर्चा भए पनि हामीले हाइड्रोजनबाट चल्ने गाडीको बारेमा सोच्नु पर्ने बताएका हुन्।
अहिले धेरैको ध्यान विद्युतीय सवारीमा गइरहेको छ। आज जे ट समाज त्यसैमा रहँदैन,’ मन्त्री शर्माले भने, ‘अबको समय भनेको ग्रिन हाइड्रोजनको पनि हो।’
हामी त्यतातिर पस्नु पर्ने भएकाले व्यावसायीले पनि त्यसतर्फ सोच्नु पर्ने उनको भनाइ छ।
अटो मोबाइल एसोसिएशन अफ नेपाल नाडाका अध्यक्ष धुव्र थापाले सवारी साधनको आयात बन्द हुँदा व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको बताए।
‘अटोमोबाइल व्यावसायको राज्यको राजश्वमा सबैभन्दा बढी योग्दान दिँदै आएको छ। यस व्यावसायबाट प्रत्यक्ष रुपमा १ लाख भन्दा बढीले रोजगारी प्राप्त गरेका छन्,’ अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी योग्दान छ।’ निजी सवारी र १५० सीसीभन्दा ठूला सवारीको आयात खुलाउन उनले अर्थमन्त्रीसँग माग गरे।
वातावरण प्रदुषण कम गर्न र स्वदेशमा उत्पादित विद्युतको प्रयोग बढाउन विद्युतीय सवारी अपरिहार्य भएको थापाको भनाइ छ। नेपालमा आयोजना भएको पहिलो ईभी एक्स्पोले विद्युतीय सवारीको बिक्री तथा प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
विश्वको ध्यान विद्युतीय सवारी साधनमा केन्द्रित भइरहेको अवस्थामा ईभी एक्स्पो सान्र्दभिक भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। ‘हरेक देशले विद्युतीय सवारी साधनको प्रयोग बढाउन प्रोत्साहन गरिरहेका छन्। केही देशले अनुदान, निःशुल्क पार्किङ, कर छुट दिइरहेका छन्,’ अध्यक्ष गोल्छाले भने, ‘नेपाल सरकारले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। भन्सार र अन्तःशुल्कमा छुट हुँदा उपभोेक्ताले ३० लाख रुपैयाँमा विद्युतीय सवारी खरिद गर्न सकेका छन्।’
ईभी एक्स्पोका सभापती अनुपकुमार बरालले वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै एक्स्पो आयोजना गरिएको बताए।
एक्स्पोमा ९ ओटा ब्राण्डका चार पांग्रे ,१६ ओटा ब्राण्डका दुई पांग्रे , ३ ओटा बाण्डका टायर, २ ओटा बाण्डका ब्याट्री, ९ ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ ओटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ।
प्रदर्शनीमा विद्यूतीय सवारीको विकसित प्रविधि, यसको प्रयोग, दीर्घकालीन फाइदालगायतका विषयमा जानकारी दिन यूएसएआईडीसँगको सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुनेछ। उक्त सेमिनार असाजो ७ गतेदेखि ९ गतेसम्म प्रदयेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका विद्युतीय सवारी सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहनेछ।
आजदेखि काठमाडौंको भृकृटी मण्डपको प्रदर्शनील स्थालमा शुरु भएको ईभी एक्स्पो असोज ९ गतेसम्म सञ्चालन हुनेछ।
४ दिन सम्म चल्ने उक्त नाडा ईभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने बिश्वास आयोजकको रहेको छ।
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार