
काठमाडौं ।
राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ।
चितवनमा शुरुमा अटो र बाइकमा राइड सेवा शुरु गरिने बताइएको छ। यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालको प्रबक्ता सुरक्षा हमाल बताउँछिन्।
‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो। करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ। आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ।’
चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन्। थप जानकारीका लागि ०१(५९७००९९ मा कल गर्न पनि सकिन्छ।
के छ त पठाओमा सुबिधा ?
पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल-सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको बिकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेका छन्।
बीमा अन्तर्गत हरेक यात्रामा १ लाख रुपैयाँसम्मको उपचार बीमा र १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध छ। जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो।
पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ।
पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ । २४ सै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवस्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन्।
यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ।
पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पुर्ण बिवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गरेर आफू पुगिरहेको गन्तब्यको बारेमा प्रत्यक्ष ९लाइभ० जानकारी गराउन सकिन्छ।
एप मार्फत बुक नगरी अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुबिधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित नहुने हमालको भनाइ छ।
सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड सेयरिङ मार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्टमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो। भने राइड सेयरिङ सुरू गरेको २ वर्षपछि सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै काठमाडौमा ‘पठाओ फुड’ सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ।
प्रकाशित: ३ आश्विन २०७९, सोमबार