
काठमाडौं ।
मर्सिडीज बेन्ज र रिभियन मिलेर इलेक्ट्रिक भ्यान निर्माण गर्ने भएका छन्। मर्सिडीज बेन्ज र रिभियनले ‘बेस्पोक लार्ज’ कमर्शियल इलेक्ट्रिक भ्यान निर्माण गर्ने बिहीबार घोषणा गरेका हुन्।
मध्य वा पूर्वी यूरोपमा अवस्थित मर्सिडीज बेन्जको साइट प्रयोग गर्ने लक्ष्य राखेर कम्पनीहरुले नयाँ प्लान्टमा लगानी गर्ने रणनीतिक साझेदारी शुरु गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको दभर्जले उल्लेख गरेको छ।
यूरोपमा रिभियनको पहिलो लगानी हो। रिभियनसँग अमेरिकामा मात्र उत्पादन सुविधा छ।
दुई अटोमेकरको सहकार्यमा दुई मोडलका भ्यान निर्माण हुनेछन्। एउटा मर्सिडीजको भ्यान इलेक्ट्रिक आर्किटेक्चर प्लेटफर्ममा निर्मित र अर्को रिभियनको दोस्रो जेनेरेसनको इलेक्ट्रिक भ्यान प्लेटफर्म, जसलाई रिभियन लाइट भ्यान भनिन्छ।
मर्सिडीज बेन्जले दुई दशकभन्दा लामो समयदेखि व्यावसायिक भ्यानहरु निर्माण गर्दै आएको छ। रिभियनको इलेक्ट्रिक प्लेटफर्ममा सीमित स्रोतहरुको प्रयोग बढ्ने र उत्पादन अनुभव आदान प्रदान हुने विश्वास व्यक्त गरिएको छ।
‘हामी जर्मनीमा ठूला भ्यानहरू उत्पादन गर्ने एक मात्र भ्यान निर्माताको रूपमा हाम्रो स्थिति कायम राख्न चाहन्छौं। ई-मोबिलिटी रूपान्तरणसँग सम्बन्धित बढ्दो लागतहरूको बावजुद,’ मर्सिडीज बेन्ज भ्यानका प्रमुख माथाइस गेसेनले भने।
सम्झौताको घोषणा सम्बन्धि प्रेस विज्ञप्तिमा, रिभियनका सीईओ आरजे स्कारिन्जले भने, ‘हामी विश्वास गर्छौं कि सँगै हामीले साँच्चिकै उल्लेखनीय इलेक्ट्रिक भ्यानहरू उत्पादन गर्नेछौं। जसले हाम्रा ग्राहकहरूलाई मात्र होइन, ग्रहलाई फाइदा पुर्याउनेछ।’
यो नयाँ संयुक्त उद्यमको खबरले रिभियनको स्टक मूल्य ३४.९० अमेरिकी डलरबाट बढेर ३६.२६ अमेरिकी डलर पुगेको छ।
प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार