
काठमाडौं ।
भारतको टाटा समूहले ताइवानको आपूर्तिकर्ता विस्ट्रोन कर्पसँग भारतमा आईफोन एसेम्बल गर्न संयुक्त उपक्रम (जोइन्ट भेन्चर) स्थापना गर्न वार्ता गरिरहेको छ। ब्लूमबर्गको शुक्रबारको रिपोर्टमा टाटाले विस्ट्रोनसँग आईफोन एसेम्बल गर्न वार्ता गरेको हो।
टेक्नोलोजी निर्माणमा बलियो बन्नका लागि टाटाले विस्ट्रोनसँग छलफल अघि बढाइरहेको छ। टाटा ताइवानी कम्पनीको उत्पादन कौशल, आपूर्ति श्रृंखला, एसेम्बली विशेषज्ञताको प्रयोग गर्न चाहन्छ।
यदि यो सम्झौता सफल भएमा टाटा आईफोन निर्माण गर्ने पहिलो भारतीय कम्पनी बन्ने छ। वर्तमानमा मुख्यतया विस्ट्रोन र फक्सकन टेक्नोलोजीले आईफोन उत्पादन गर्दै आएका छन्।
कोभिड १९ महाभारीका कारण धेरै कम्पनीहरु आफ्नो उत्पादनका लागि एउटा मात्र मुलुकको भरमा पर्नु हुँदैन भन्ने पाठ सिकेका छन्। यस्तोमा पछिल्लो समय धेरै कम्पनीहरु चीनबाट अन्यत्र मुलुकमा पनि आफ्नो कारखाना खोल्ने क्रममा छन्। पछिल्लो समय अमेरिका र चीनबीच तनाव बढ्दो क्रममा छ।
टाटा समूहका अध्यक्ष नटराजन चन्द्रशेखरनले करिब १२८ बिलियन अमेरिकी डलर राजश्व भएको कम्पनीको लागि इलेक्ट्रोनिक्स र हाई टेक उत्पादन मुख्य फोकस क्षेत्र भएको बताएका छन्।
सफ्टवेयर, स्टिल र सवारी लगायत उद्योगहरुले टाटाको धेरै जसो व्यवसायमा योगदान गर्दछ। तर कम्पनीले आईफोन चेसिस कम्पोनेन्टहरु निर्माण शुरु गरेर स्मार्टफोन आपूर्ति श्रृंखलामा प्रारम्भिक कदम चालेको छ।
प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार