मेटाले प्रतिद्वन्द्वी टिकटकका विज्ञापन आफ्ना प्लेटफर्ममा प्रतिबन्ध लगायो

  • Technology Khabar | २६ आश्विन २०८३, सोमबार
मेटाले प्रतिद्वन्द्वी टिकटकका विज्ञापन आफ्ना प्लेटफर्ममा प्रतिबन्ध लगायो
फोटो सौजन्यः इनग्याजेट

काठमाडौं ।

मेटाले प्रतिद्वन्द्वी प्लेटफर्म टिकटकका विज्ञापनमा प्रतिबन्ध लगाएको पुष्टि गरेको छ। ब्लुमबर्गका अनुसार मेटाले “प्रतिस्पर्धी कम्पनीका प्रचार सेवाहरू अस्वीकार गर्नु सामान्य व्यावसायिक अभ्यास भएको” बताएको छ।

यो समाचार टिकटकले इन्स्टाग्राम र फेसबुक प्रोफाइलका लिङ्कमा प्रतिबन्ध लगाएपछि आएको हो। साथै, मेटाले टिकटक र अन्य सामाजिक सञ्जाललाई पनि नाबालिगको सुरक्षाका लागि आफ्नै जस्तै सुविधा लागू गर्न दबाब दिँदै विज्ञापन गरिरहेको छ।

बिहीबार मेटाले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकका विज्ञापन र मार्केटिङमा पूर्ण प्रतिबन्ध लगाएको हो। कम्पनीका अनुसार यो प्रतिबन्ध अमेरिका, क्यानडा, इजिप्ट, इन्डोनेसिया, जापान, थाइल्यान्ड र भियतनाममा लागू भएको छ।

इन्ग्याजेटका अनुसार यी देशमा टिकटकसँग सम्बन्धित विज्ञापन अभियान चलाउने तेस्रो पक्षका विज्ञापनदातालाई पनि यो प्रतिबन्ध लागू हुन्छ। मेटाका प्रवक्ता क्रिस स्ग्रोले ब्लुमबर्गलाई भने, “हाम्रा एपबाट मानिसलाई बाहिर लैजाने उद्देश्य राख्ने प्रतिस्पर्धी कम्पनीका विज्ञापन हामीले चलाउनुपर्दैन।”

अगस्टमा मेटाले अमेरिकी राज्यहरूसँग १८ अर्ब डलरको सम्झौता गर्न सहमति जनाएको थियो। उक्त सम्झौताले फेसबुक र इन्स्टाग्राममा बालबालिकाको सुरक्षासम्बन्धी सुविधा लागू गर्न पनि बाध्य बनाएको थियो।

कानुनी विज्ञहरूले यसले मेटाका प्रतिस्पर्धी कम्पनीहरू, विशेषगरी टिकटक र यूट्युबलाई पनि आफ्ना एपमा परिवर्तन गर्न दबाब पर्न सक्ने बताएका थिए। यसै गर्मीयाममा यूरोपेली नियामकहरूले टिकटकले नाबालिगको सुरक्षा सुनिश्चित गर्न पर्याप्त काम नगरेको बताएका थिए। उनीहरूले प्लेटफर्मको वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना लगाउन सक्ने पनि बताएका थिए।

यसले टिकटक र यूट्युबलाई दबाबमा पारेको छ। सरकारी नियामक र मेटा दुवैले उनीहरूलाई बालबालिकाको सुरक्षाका लागि मेटाले अपनाएको उपाय पछ्याउन दबाब दिइरहेका छन्।

मेटाले हालै आफ्ना प्रतिस्पर्धीलाई पनि यस्तै कदम चाल्न आग्रह गर्दै प्रमुख पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको थियो। साथै, स्क्रिन हेर्ने समय र बालबालिकाको सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारी अधिकारीहरूले आयोजना गरेका विभिन्न बैठकमा टिकटक सहभागी नभएको भन्दै आलोचना गरेको थियो।

अहिले अमेरिकी र संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूको समूहको स्वामित्वमा रहेको टिकटकले यस विषयमा अहिलेसम्म निकै कम प्रतिक्रिया दिएको छ। उक्त समूहमा ल्यारी एलिसनको कम्पनी ओरेकल पनि समावेश छ।

प्रकाशित: २६ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...