काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमको इतिहासको अन्वेषण र वर्तमानको विश्लेषणबाट भविष्यको सुन्दर यात्रा तय गर्न सकिने बताएका छन्।
धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत आइतबार धनगढीको जेनजी मार्गमा स्थापना गरेको ‘डिजिटल बोर्ड’ अनावरण कार्यक्रममा उनले प्रविधिको प्रयोगमार्फत सुदूरपश्चिमको इतिहास, पहिचान र सम्भावना उजागर गर्ने प्रयासको प्रशंसा गरे।
मुख्यमन्त्री भट्टले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनको युगमा प्रविधिलाई जनतासँग जोड्ने र जनजीवनमा उपयोग गर्ने विषय महत्त्वपूर्ण रहेको उल्लेख गरे। डिजिटल बोर्डमार्फत सुदूरपश्चिमका प्राकृतिक तथा सांस्कृतिक सुन्दरता र सम्भावना देखाउने काम सराहनीय रहेको उनको भनाइ थियो।
“हाम्रा सबै समस्यालाई सम्भावना, चुनौतीलाई अवसर र सबै प्रकारका आवश्यकता सम्बोधन गर्ने शक्ति प्रविधिसँग छ। यसले सबैका सामूहिक विवेकको सर्वोच्च संश्लेषण गर्ने अवस्था हुन्छ”, मुख्यमन्त्री भट्टले भने, “त्यही प्रविधिको प्रयोग गरेर उपमहानगरले सुदूरपश्चिमका सम्भावना र सुन्दरता देखाउँदै तिनलाई अवसरमा बदल्ने प्रयासको सुरुआत गरेको छ। यसले प्रदेशलाई पनि केही सिक्न प्रेरित गरेको छ। सबैले यस्ता अभ्यासबाट प्रेरणा लिनुपर्छ।”
मुख्यमन्त्री भट्टले सबै मिलेर सुन्दर, समृद्ध, वैभवशाली र गौरवशाली प्रदेश निर्माण गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा उपमहानगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले समग्र सुदूरपश्चिमका सम्भावना र सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले अभियानअन्तर्गत डिजिटल बोर्ड स्थापना गरिएको जानकारी दिए। उपमहानगर प्रमुख हमालले प्राकृतिक तथा धार्मिक सम्पदाको उपयोगबाट प्रदेशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिए।
उनले हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टासम्म डिजिटल बोर्डमा सुदूरपश्चिमका सम्भावना प्रस्तुत गरिने जानकारी दिए। साथै, प्रदेशका ८८ वटै स्थानीय तहलाई आफ्ना असल अभ्यास र उपलब्धिका विवरण उपलब्ध गराउन आग्रह गरे।
कार्यक्रममा अभियानको प्रचारप्रसारका लागि सुदूरपश्चिमका विभिन्न सम्पदाबारे जानकारी समेटिएका पोस्टरसमेत सार्वजनिक गरिएका थिए। –रासस
प्रकाशित: २६ आश्विन २०८३, सोमबार