वर्षौंदेखि थन्किएका विद्युतीय गाडी दशैंअघि नै चलाइने

  • Technology Khabar | २५ श्रावण २०७९, बुधबार
वर्षौंदेखि थन्किएका विद्युतीय गाडी दशैंअघि नै चलाइने
फाइल तस्बिर

काठमाडौं ।

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैं अगावै सञ्चालनमा आउने भएका छन्। लुम्बिनी विकास कोषका अनुसार दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

विद्युतीय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै गाडी सञ्चालनको आशा पलाएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) को संयोजकत्वमा विद्युतीय गाडी सञ्चालनसम्बन्धी कार्यविधि बनाउने र यसबारे प्रतिवेदनसमेत पेश गर्ने गरी जेठ १९ गते कार्यदल बनाइएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।

कार्यदलले अहिले विभिन्न चरणको कामहरु गरिरहेको छ। बौद्ध परिपथमा विद्युतीय गाडीहरु कसरी सञ्चालन गर्ने, चार्जिङ्ग स्टेशन कहाँ राख्ने, कुन मोडेलमा सञ्चालन गर्नेलगायतका विषयमा विभिन्न छलफल भइरहेको सदस्य सचिव शाक्यले बताए।

शाक्यका अनुसार विद्युतीय गाडीहरु कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडि बढाइएको छ। “अहिले गाडीहरुको नम्बर प्लेटको विषयमा अन्योल रहेको छ,” शाक्यले भने, “गाडीहरुमा हरियो नम्बर प्लेट, कालो नम्बर प्लेट अथवा अन्य राख्ने विषयमा छलफल भइरहेको छ ।”

यसको साथै गाडीहरु लुम्बिनी विकास कोषले आफै सञ्चालन गर्ने कि तेस्रो पक्षलाई सञ्चालन गर्न दिने भन्ने विषयमा पनि छलफलकै क्रममा रहेको उनले बताए। कार्यदलका संयोजकसमेत रहेका कोषका कोषाध्यक्षले कार्यदलले यी सबै विषयमा कार्यविधि बनाई प्रतिवेदनसमेत पेश गर्ने बताए । उनले जिम्मेवारी प्राप्त गरेदेखि नै समितिले काम सुरु गरेको बताउँदै भदौको पहिलो सातासम्म प्रतिवेदन र कार्यविधि बोर्डलाई बुझाउने बताए।

“कार्यदलले पहिलो काम विद्युतीय गाडीहरुको अवस्था बुझ्ने काम गरेको छ,” कार्यदल संयोजक भट्टराईले भने, “पाँचवटा भ्यान र पाँचवटा बस समय समयमा सञ्चालन भई आएकाले ठीक अवस्थामा छन्, बाँकी नौवटा भ्यानको ब्याट्री डाउन भएको छ ।”

यसको मर्मतका लागि सप्लायर्सलाई भनेको बताउँदै उनले गाडीहरुको बिमा र यसको नम्बर प्लेटको बारेमा अध्ययन गरिरहेको बताए । सँगै बसको रुट परमिटको बारेमा पनि छलफल चलाइएको भट्टराईले बताए । उनले बौद्ध परिपथमा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनी सम्म बस सञ्चालन गरिन सक्ने सम्भावना रहेको जानकारी दिए।

“साउनमै सबै काम सकिएर भदौको पहिलो साता प्रतिवेदन पेश गर्नेछौं,” उनले भने,“दशैं अगावै वा ढिलो भए पनि घटस्थापनाको दिनमा उदघाटन गर्नेछौं ।” उनले सुरुमा अफिसियल रुपमा सञ्चालन, त्यसपछि परीक्षण र दशैं अगावै औपचरिकरुपमा सुरुवात गर्ने योजना रहेको बताए।

एडिबीको सहयोगमा लुम्बिनीमा आउने पर्यटकको सुविधाका लागि कोषलाई १४ ओटा विद्युतीय भ्यान र पाँचओटा विद्युतीय बस प्राप्त भएको थियो । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो। नेपाल सरकारले साढे तीन करोड रुपियाँ भन्सार शुल्क व्यहोरेको छ।

लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र भ्यान ल्याइएका हुन् । अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन्। ट्याक्सीमा भने पाँच सिट छन्। पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन्। एक पटक फूल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्छ। गोरखापत्रबाट

प्रकाशित: २५ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार