
काठमाडौं ।
कोभिड-१९ महामारी र रुस युक्रेन युद्धका कारण अटो उद्योगहरुले उपकरण अभावको सामना गर्नु परिरहेको छ। यस्तो फेरि चीन र ताइवानबीच बढ्दो तनाब पनि अटो उद्योगहरुले सामना गर्नुपर्ने देखिएको छ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमण गरेसँगै चीन चिढिएको छ।
चीन र ताइवानबीच बढ्दो तनाबले चिप आपूर्तीमा समस्या हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ। विश्वका धेरै सवारी उत्पादकहरु चिप आपूर्तीका लागि ताइवानमा निर्भर छन्।
सेमीकन्डक्टर चिप आधुनिक उपभोग्य इलेक्ट्रोनिक्स उपकरणका साथै नयाँ जेनेरेसनको सवारीको एक प्रमुख हिस्साको रुपमा रहेको छ। पछिल्लो दुई वर्षदेखि सवारी उत्पादकहरुले चिप अभावको सामना गरिरहेका छन्।
यस्तोमा चीन र ताइवानबीच उत्पन्न तनाबका कारण चिप अभाव अझै चुलिने विश्लेषकहरुले बताएका छन्। यसले सवारी उत्पादन प्रक्रियामा बाधा उत्पन्न हुने आशंका गरिएको छ।
चीन र ताइवानबीच सैन्य संघर्ष भएमा चिप उत्पादनमा गम्भिर असर पर्नेछ।
ताइवान सेमीकन्डक्टर म्यानुफ्याचरिङ कम्पनी लिमिटेड (टीएसएमसी) संसारको सबैभन्दा ठूलो अनुभवी चिप निर्माता कम्पनी हुनका साथै ताइवानको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको छ।
कम्पनीले चीनसँग तनाब बढेको खण्डमा उत्पादन बन्द गर्ने चेतावनी दिइसकेको छ।
टीएसएमसीका मार्क लियूले हालै सीएनएनसँगको संवादमा चीनले ताइवानमा आक्रमण गरेमा कम्पनीको काम प्रभावित हुने बताएका छन्। टीएसएमसी विश्वव्यापी आपूर्ती श्रृंखलामा निर्भर छ। यसबाट उपभोगिय इलेक्ट्रोनिक्स उपकरण मात्र नभई सवारी उत्पादनमा पनि प्रभाव पर्नेछ।
दुई देशबीच युद्ध भएको खण्डमा टीएसएमसी मात्र प्रभावित हुने छैन।
यसबाट यूनाइटेड माइक्रोइलेक्ट्रोनिक कर्प, एएसई टेक्नोलोजी, मिडियाटेक, एयू ओप्ट्रोक्सिलगायत अन्य निर्माता पनि प्रभावित हुनेछन्।
प्रकाशित: २१ श्रावण २०७९, शनिबार