
काठमाडौं ।
सस्तो इलेक्ट्रिक कार निर्माण गर्नका लागि भारतीय सोलार कम्पनी जेनसोल इन्जिनियरिङले अमेरिकी इलेक्ट्रिक भेहिकल म्यान्यूफ्याचरिङ स्टार्टअप अधिग्रहण गर्ने भएको छ। यसका लागि दुई कम्पनीबीच सम्झौता भएको ग्याजे३६०ले उल्लेख गरेको छ।
जेनसोलले अमेरिकी कम्पनीसँग मिलेर ६ लाख भारु भन्दा सस्तो इलेक्ट्रिक कार निर्माण गर्ने योजना बनाएको छ।
जेनसोलले अमेरिकी स्टार्टअपको विज्ञतालाई इलेक्ट्रिक कार निर्माणमा उपयोग गर्नेछ।
ग्याजेड३६० का अनुसार यस सम्झौता सम्बन्धी जेनसोलको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन।
कम्पनीका म्यानेजिङ डाइरेक्टर अनमोल सिंह जग्गीले बजारमा ५ देखि ६ लाख भारु आसपासको इलेक्ट्रिक सवारी आवश्यक भएको बताएका छन्। जेनसोलले सोही मूल्यमा केन्द्रिर रहेर इलेक्ट्रिक सवारी ल्याउने योजना बनाइरहेको उनले बताए।
कम्पनी सन् २०२३ को पहिलो क्वाटरमा भारतस्थित पुणे प्लान्टबाट उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ। शुरुवाती वर्षमा १२ हजार ईभी तयार गरिनेछ। यसका लागि कम्पनीले १५० अटोमोबाइल इन्जिनियर र डिजाइनर नियुक्ती गर्दैछ।
मनी कन्ट्रोलको रिपोर्ट अनुसार कम्पनीले विभिन्न चरणमा २५० देखि ४०० करोड भारुसम्म लगानी गर्नेछ। प्रविधि विकासका लागि कम्पनीले रिसर्ज एण्ड डेभलपमेन्ट (आरएण्डडी) सेन्टर पनि स्थापना गर्ने लक्ष्य बनाएको छ।
कम्पनीले पहिलो चरणमा इलेक्ट्रिक ह्याचब्याक कार ल्याउने छ। जसले सिंगल चार्जमा २०० किलोमिटरको रेञ्ज प्रदान गर्नेछ र २ घण्टामा फुल चार्ज हुनेछ।
प्रकाशित: ३१ असार २०७९, शुक्रबार