क्यान इन्फोटेक शुरू, १० वर्षपछि ‘र्इ-नेपाल’ बन्ने अर्थमन्त्रीकाे भनार्इ

Technology Khabar १३ माघ २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौँ, १३ माघ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला शुरु भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन अवश्यक भएकाे बताए । ‘राज्य प्रणालीलाई आधुनिकीकरण गर्न र परम्परागत कार्य प्रणालीलाई आधुनिक बनाई सेवा प्रणालीलाई सुलभ र छरितो बनाउन प्रविधिको अपरिहार्य भइसकेको छ,’ उनले भने ।

उपप्रधानमन्त्री महराले  विद्युतीय सिकाइ ‘इ-लर्निङ’ लाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे । उनले दूरसञ्चार प्रविधिको पहुँच ग्रामीण भेगका जनतासम्म पुर्याउन सरकार लागि परेको उल्लेख गर्दै १० वर्षपछि पूरै नेपाल विद्युतीय ‘इ’ नेपाल हुने दाबी गरे ।

क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्नेमा जोड दिए।

विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्लगायतका रहेका छन् ।

क्यान इन्फोटेकको अघिल्लो वर्ष तीन लाख ६३ हजारले अवलोकन गरेकामा यस वर्ष सो सङ्ख्या चार लाख पुग्ने आयोजकले अनुमान गरेकाे छ । इन्फोटेकमा अवलोकन शुल्क सर्वसाधारणलाई रु१००/- र विद्यार्थीलाई रु५०/- तोकिएको जनाएकाे छ ।

प्रकाशित: १३ माघ २०७३, बिहीबार

तपाइको प्रतिक्रिया