
काठमाडौं ।
टिकटकको मुख्य कम्पनी बाइटडान्स भर्चुअल रियालिटी (भीआर) उद्योगमा प्रवेश गर्ने भएको छ।
बाइटडान्सले भीआर सम्बन्धि सामग्री विकास गर्न ठूलो लगानी गर्ने योजना बनाएको द भर्जले उल्लेख गरेको छ।
गत वर्ष बाइटडान्सले चिनियाँ भीआर हेडसेट निर्माता पिकोलाई अधिग्रहण गरेको थियो। अहिले बाइटडान्सले पिकोका लागि ४० भन्दा बढी रोजगारी खुलाएको छ।
द भर्जको रिपोर्टअनुसार अधिकांश जागिर अमेरिका स्थित क्यालिफोर्निया र वासिङटनमा रहेको पिको स्टुडियोका लागि छ। कम्पनीले भीआर गेमको रणनीतिक प्रमुखदेखि गेम सञ्चालन प्रबन्धकसम्मको आवेदन माग गरेको छ।
अन्य पदमा अप्टिकल इन्जिनियर र प्रणाली डिजाइन इलेक्ट्रिक इन्जिनियर पनि पिकोका लागि माग गरिएको छ।
जागिरको विवरणमा उल्लेख गरिएअनुसार उम्मेदवारहरु अमेरिकी उपभोक्ता बजारमा पिकोको समग्र उत्पादनको बिक्री र मार्केटिङका लागि जिम्मेवार हुनेछन्।
पिको अमेरिकामा आफ्नो उपस्थिति स्थापित गर्ने योजनामा छ।
अमेरिकामा आफ्नो उपस्थिति जनाउन पिकोले अझै धेरै मिहिनेत गर्न बाँकी छ। बाइटडान्ससँग अमेरिकाको भीआर बजारमा एकाधिकार स्थापित गरिसकेका मेटा, एचटीसी, भल्भ र प्लेस्टेशनलगायतका कम्पनीसँग प्रतिस्पर्धा गर्ने क्षमता छ।
कम्पनीले गत मेमा युरोपियन बजारमा ‘अल इन वान’ हेडसेट पिको नियो ३ लिंक लन्च गरिसकेको छ। यसको मूल्य ४७२ अमेरिकी डलर तोकिएको छ।
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार