
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानूनीरुपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन र वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानूनी व्यवस्था रहेको जानकारी दिँदै त्यस बाहेकका कार्यहरु गर्नेलाई कारबाही गर्ने बताएको हो।
“हाल सामाजिक संजालहरुमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन र वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्नु र नगराउनु हुन सूचित गरिन्छ,” प्राधिकरणले सूचनामा भनेको छ।
त्यसैगरी अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने र गराउने जस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ।
यसका साथै सो बारेमा सेवाग्राहीहरुलाई भ्रममा नपर्न र दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन गरेको वा वितरण गरेको बारेमा जानकारी गराउन समेत अनुरोध गरेको छ।
प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार