Technology Khabar २ माघ २०७३, आईतवार
काठमाडौं ।
काठमाडौँ, २ माघ । उद्योग विभागले दिने सेवाहरू अाइतवारदेखि अनलाइन प्रणालीमार्फत शुरु भएको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका लागि दिएकाे आवेदन स्वीकृत गरिएको प्रमाणपत्र प्रदान गरेर उक्त सेवाको शुरूवात गरे ।
अनलाइन प्रणालीद्वारा आवेदन दिएर सेवा लिने व्यवसायी चुमीले पोखरामा दुई करोड रूपैंयाको लगानीमा रेस्टुराँसहितको ३२ शय्याको होटल सञ्चालन गर्दैछिन् ।
विभागले उक्त अनलाइन सेवाबाट नेपालमा मझौला तथा ठूला उद्योग सञ्चालनका लागि अनुमति दिने, विदेशी लगानीका लागि स्वीकृति प्रदान गर्ने, उद्योग दर्ता गर्ने तथा विदेशी लगानीकर्तालाई व्यावसायिक भिसा प्रदान गर्ने व्यवस्था मिलाइएको सो अवसरमा जानकारी दिइयो ।
उक्त प्रणाली सञ्चालनमा आएसँगै उद्योग दर्तालगायत त्यससँग जोडिएका सबै कामका लागि एउटा निकायमा दर्ता गरेको एक निवेदनले सबैका लागि काम गर्ने बताइएको छ ।
सो अवसरमा मन्त्री जोशीले उद्योग क्षेत्रको सुधारका लागि तयार गरिएको कार्ययोजना कार्यान्वयनको पहिलो खुड्किलोको रुपमा अनलाइन प्रणालीको शुभारम्भ भएको बताए ।
उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले उद्योग प्रशासनमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्न अनलाइन प्रणाली सेवा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
समारोहमा सिङ्गापुरका व्यवसायीलाई अनलाइनमार्फत भिसाको लागि सिफारिस भएको प्रमाणपत्र समेत प्रदान गरिएको जानकारी दिइयाे ।
प्रकाशित: २ माघ २०७३, आईतवार