निर्वाचनका कारण राजश्व बुझाउने सेवाग्राही घटे: यातायात कार्यालय

  • Technology Khabar | ६ जेष्ठ २०७९, शुक्रबार
निर्वाचनका कारण राजश्व बुझाउने सेवाग्राही घटे: यातायात कार्यालय

काठमाडौं ।

स्थानीय तहको निर्वाचन सकिए पनि यातायात कार्यालयमा सेवाग्राहीको भिडभाड बढ्न सकेको छैन।

निर्वाचनका कारण बन्द रहेका यातायात कार्यालयहरु जेठ ३ गतेदेखि पूर्ण रुपमा सञ्चालन आए पनि सेवाग्राहीको संख्या भने बढ्न नसकेको सानो भर्याङस्थित बागमती प्रदेश यातायात कार्यालयका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए।

विगतमा सानो भर्याङस्थित यातायात कार्यालयले दैनिक औसतमा १२ सयदेखि १५ सय सेवाग्राहीलाई सेवा दिँदै आइरहेको छ। निर्वाचन पछि भने दैनिक औषतमा २ सयको हाराहारीमा सेवाग्राहीले सेवा लिइरहेको शाहले टेक्नोलोजीखबरलाई जानकारी दिए।

‘स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गएका सेवाग्राही उपत्यका फर्किनसकेकाले कार्यालयमा सेवाग्राहीको चाप कम देखिएको हो,’ शाहले भने, ‘मतदानका लागि गृहनगर गएका सेवाग्राही फर्कन ढिला भएकाले त्यसको प्रभाव यातायात कार्यालयमा देखिएको हो।’

सेवाग्राहीको संख्या घटेसँगै कार्यालयको राजश्व संकलनमा पनि ह्रास आइरहेको छ। विगतमा कार्यालयले दैनिक औसतमा १५ करोड राजश्व संकलन गर्ने गरेको थियो भने अहिले २ देखि ३ करोड मात्र राजश्व संकलन भइरहेको छ।

सानो भर्याङ कार्यालयले ब्लूबूक नवीकरण, रुट परमिट नवीकरण, सवारी जाँच पास, सवारी प्रदूषणलगायत शीर्षकमा सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...