Technology Khabar २८ मंसिर २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, २८ मंसिर । सिन्धुली उद्योग बाणिज्य संघले पुसको दोस्रो साता सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो ।
सम्मेलनमा संघका अध्यक्ष बिनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सास्कृतिक, तथा सुन्दरताको भण्डार रहेको बताउँदै त्यसको उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । ‘सिन्धुलीगढीमा अंग्रेजलाई पराजित गरेर नेपाललाई सधैं स्वतन्त्र राख्ने गोर्खालीको इतिहास बोकेको सिन्धुलीलाई जुनारले समेत मुलुकभर चिनाएको छ,’ उनले भने, ‘सिन्धुलीका उत्पादन र पर्यटकीय स्थलको प्रबर्धन गर्न महोत्सव गर्न लागेका हौं ।’
समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले महोत्सवकोे अबलोकन गराउन काठमाडौंबाट ठूलो संख्यामा जिल्लाबासीलाई लैजान ‘जाउँ है सिन्धुली’ अभियान संचालन गरिएको बताए ।
महोत्सवमा २५० ओटा स्टल रहनेछन् । त्यसमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परम्परागत वस्तुहरुको, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनिहरुको उत्पादन प्रर्दशनीमा राखिने आयोजक संस्थाले जनाएको छ ।
प्रकाशित: २८ मंसिर २०७३, मंगलवार