
काठमाडौं ।
पछिल्लो समयमा स्थानीय चुनावलाई केन्द्रमा राखेर सामाजिक सञ्जालहरुमा गलत र भ्रामक किसिमका सामग्री आएको भन्दै निर्वाचन आयोगले सबैलाई सचेत गराएको छ।
आयोगले सामाजिक सञ्जालमा दुष्प्रचार, मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट नगर्न समेत चेतावनी दिएको छ। आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो।
पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने बताए।
आयोगले यसअघि नै सामाजिक सञ्जालको प्रयोग र सदुपयोगको लागि आचारसंहिता नै जारी गरेको छ। निर्वाचन आचासंहिता, २०७८ मा सामाजिक सञ्जालको प्रयोगको बारेमा उल्लेख छ।
सोही सार्वजनिक आचारसंहिता के हो र कस्ता छन् भनेर हामी यहाँ जानकारी दिने प्रयास गर्ने छौं।
स्थानीय चुनावलाई केन्द्रित हुँदै सामाजिक सञ्जाल प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण
– कसैको पक्ष वा विपक्षमा एस.एम.एस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइवर, यूट्युब, इन्स्ट्राग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने।
– सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेशपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने।
– निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने।
– सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेशपूर्ण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने।
– कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने।
– कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने।
– निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने।
– मौन अवधिमा सामाजिक सञ्जाल, अनलाईन छापा माध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोष्ट वा शेयर गर्न, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण गर्न नहुने।
तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोष्ट गर्न बाधा पुर्याएको मानिने छैन।
प्रकाशित: १९ बैशाख २०७९, सोमबार