ताजा समाचार

स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी

स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी
फाइल तस्बिर
Global IME Bank

सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ। गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो ।

न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो । समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले स्वचालित प्रणालीको तयारी र जनशक्तिको तालिमलगायतका विषयमा सरकारसँग बजेट माग भएको बताए । आइतबार बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले बजेट माग गर्ने निर्णय गरेको उनले बताए।

स्वचालित पेसी प्रणालीमा मुद्दाका सम्पूर्ण जानकारी सफ्टवेयरमा अपलोड हुनेछ । सफ्टवेयरले नै मुद्दाको विश्लेषणसमेत गर्नेछ । यसरी गरिएको विश्लेषणका आधारमा हालको पेसी व्यवस्थापन जस्तै मुद्दाको वर्गीकरणसमेत हुनेछ । इजलासको क्षमता सङ्ख्या, न्यायाधीशको नाम सबै सफ्टवेयरमा अपलोड हुनेछ । कुन न्यायाधीशले कुन मुद्दा हेर्न नमिल्नेलगायतका जानकारी पनि सफ्टवेयरमै राखिनेछ। जसले हेर्न नमिल्ने न्यायाधीशको इजलासमा मुद्दा जाने सम्भावना हुँदैन ।

सूचना प्रविधिमा आधारित वैज्ञानिक पेसी व्यवस्थापनका लागि समितिले उक्त सुझाव दिएको थियो । स्वचालित पेसी प्रणालीको पूर्ण कार्यविधि भने तय भएको छैन । गोला प्रणाली लागू नहुँदासम्म जिल्ला तहमा सुरुदेखि अन्त्यसम्म एउटै न्यायाधीशले मुद्दा हेर्ने अभ्यास थियो ।

सर्वोच्चमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशले पेसी तोक्ने प्रचलन थियो । अहिले हेर्दाहेर्दैमा रहेका, निसु चरणमा रहेकाबाहेकका इजलास गठन गोला प्रणालीबाट हुने गरेको छ । गोरखापत्रबाट

Sajilo Visa
easy care