
काठमाडौं ।
प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनलाई तीव्र बनाएको छ। मिडियाले निर्वाचन आचारसंहिता पालना गरे नगरेको बारे काउन्सिलले अनुगमन गरिरहेको हो। अनुगमनसँगै सम्बन्धित मिडियालाई सचेत गराउँदै लिखित स्पष्टीकरण पनि सोध्ने गरिएको छ। निर्वाचन आचारसंहिताको उल्लंघन मिडियाबाटै हुन थालेपछि काउन्सिलले अनुगमन कार्यमा तिव्रता दिएको जनाएको हो।
काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराकाअनुसार गत बिहीबार दृष्टिन्यूज डटकमलाई आचारसंहिता उल्लंघन गरेको प्रति सचेत गराउँदै अब उपरान्त गल्ती नगर्न भन्दै लिखित निर्देशन दिइएको छ। सो न्यूज पोर्टलमा सोही दिन ‘मेयरका टिकट बेच्दै एमाले’ शीर्षकमा समाचार प्रकाशन भएको थियो। निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल विषय वस्तु सम्प्रेषण भएपछि सो मिडिया गृहलाई सचेत गराइएको बोहराले जानकारी दिए।
सोहीअनुसार नेपालखबर लाइभ डट कम न्यूज पोर्टललाई नेपालबाट सञ्चालन नहुने गरी व्यवस्था गर्न काउन्सिलले गत बिहीबार नै नेपाल दूरसञ्चार प्राधिकरणलाई लिखित आग्रह गरेको छ। उपप्रशासकीय अधिकृत बोहराकाअनुसार सो न्यूज पोर्टलले निर्वाचन आचारसंहिताको गम्भीर प्रतिकुल हुनेगरी समाचार सम्प्रेषण गरेको छ।
सो मिडियाले ‘मैले जित्ने जस्तो देखिएन भने चुनाव नै खारेज गर्नुपर्छ: रेणु दाहाल’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। समाचारको सो विषयवस्तु तथ्यहिन रहेको काउन्सिले जनाएको छ। त्यस्तै, संसारको खबर डटकमलाई पनि नेपालभित्र सम्प्रेषणमा रोक लगाउन काउन्सिलले प्राधिकरणलाई आग्रह गरेको छ।
उपप्रशासकीय अधिकृत बोहराका अनुसार सो मिडियाले पनि निर्वाचन आचारसंहिताको गम्भीर उल्लब्घन गरेको छ। सो मिडियामा वैशाख १ गते ‘म कुनै पनि पार्टीमा छैन तर माओवादीले जितेमात्र देश विकास हुन्छ: महानायक राजेश हमाल’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । तथ्यहिन र दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण गरेको ठहर गर्दै काउन्सिलले प्राधिकरणलाई सो आग्रह गरेको जनाएको छ।
काउन्सिलले सडक सञ्चार डट कमलाई पनि नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी रोक लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई लिखित आग्रह गरेको छ। सो वेबपेजले पनि निर्वाचन आचारसंहिता गम्भीर उल्लब्घन गरेको काउन्सिलको भनाई छ।
सो वेबपेजमा ‘केपी ओलीको ठूलो काण्ड पर्दाफास, अर्वौंको सरकारी जग्गा एमसीसीलाई फ्रिमा दिएको खुलासा’ शीर्षकमा वैशाख ६ गते सम्प्रेषण गरेको थियो । समाचार तथ्यहिन, दूरासययुक्त रहेको भन्दै काउन्सिलले सो वेबपेज सम्प्रेषणमा रोकका लागि प्राधिकरणलाई आग्रह गरेको उपप्रशासकीय अधिकृत बोहराले बताए।
त्यस्तै, निर्वाचन आचारसंहिता प्रतिकुल समाचार सम्प्रेषण गरेको भन्दै काउन्सिलले माउन्टेन टेलिभिजन कुपण्डोललाई पनि सजग गराएको छ । काउन्सिलकाअनुसार सो टेलिभिजनले वैशाख ६ गते एक समाचारमा आचारसंहिता उल्लब्घन गरेको थियो। सोहीअनुसार दवाव सप्ताहिक बिजुलीबजारलाई पनि काउन्सिलले आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण नगर्न सचेत गराएको जनाएको छ ।
सोहीअनुसार ओटिभी नेपाल डट कमलाई पनि वैशाख ७ गते काउन्सिलले लिखित पत्राचार गरी आचारसंहिता कार्यान्वयनमा सजग गराएको छ । सो सञ्चार गृहले ‘एमाले हात्ती हो हात्ती, जतिवटा भुसुनाहरु मिलेर आए पनि केही फरक पर्दैन’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। निर्वाचन आयोगको ई-बुलेटिनबाट
प्रकाशित: १२ बैशाख २०७९, सोमबार