
काठमाडौं ।
सोलुखुम्बुमा नेपाल टेलिकमको सेवा दुई दिनदेखि अवरुद्ध हुँदा लाखौँ सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण टेलिकमको ओखलढुङ्गादेखि पत्ताले क्षेत्रका विभिन्न स्थानका अप्टिकल फाइबरमा क्षति पुर्याउँदा सेवा अवरुद्ध बनेको जनाइएको छ।
नेपाल टेलिकम सल्लेरी शाखाका सूचना अधिकारी रञ्जु फुँयालका अनुसार आइतबार दिउँसो परेको चट्याङका कारण ओखलढुङ्गा र पत्तालेको मध्य भागमा जमिनमुनि बिच्छ्याइएको अप्टिकल फाइबरमा आगो लागेको छ।
नेपाल टेलिकमको मोबाइल नेटवर्क तथा इन्टरनेट सेवासमेत ठप्प भएको छ भने सिस्टम नचल्दा टेलिकम कार्यालय सल्लेरीबाट प्रवाह हुने सेवासमेत प्रभावित बनेको छ ।
समस्या समाधानका लागि सल्लेरीस्थित कार्यालयबाट प्राविधिकसहितको टोली परिचालन भइसकेको कार्यालय प्रमुख महम्मद अकबर अलीले जानकारी दिए। धेरै ठाउँको फाइबरमा क्षति पुगेकाले समाधान हुन केही दिन लाग्ने कार्यालयले जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: १ बैशाख २०७९, बिहीबार