
काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले आफ्नो नयाँ एप सार्वजनिक गरेको छ। बोर्डले आफ्नो छैठौँ वार्षिकोत्सवका अवसरमा एचआइबी मोबाइल प्रोफाइल एप सार्वजनिक गरेको हो।
बोर्डको यो नयाँ एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिने छ। यो एपको प्रयोगबाट बीमितहरुले आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन्।
एपबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने छ।
एचआईबी एप्लिकेसनबाट नवीकरण गर्ने समय भए नभएको समेत थाहा पाइनेछ। साथै नवीकरणको शुल्क कनेक्ट आईपीएस र खल्तीबाट भुक्तानी गर्न सकिने छ।
एचआईबी प्रोफाइल एप प्ले स्टोर र एप स्टोरमा अपलोड भइसकेको र भेरिफिकसेसनको प्रक्रियामा रहेकोले अर्को हप्ता भित्र एप डाउनलोड गर्न सकिने बोर्डले जानकारी दिएको छ।
एप डाउनलोड गरेपछि बिमितको बीमा नम्बर, घरमुलीको बीमा नम्बर र जन्मिति राखेर एपमा प्रवेश गर्न सकिनेछ । जन्मिति, फोन नम्बर बोर्डको सिस्टममा गलत प्रबिस्ट भएको छ भने आफ्नो जिल्लामा रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयमा सम्पर्क गरि सच्चयाउन सकिने छ।
यसै अवसरमा बोर्डले कनेक्ट आईपीएस र खल्तीको प्रयोगले अनलाईनबाटै स्वास्थ्य बीमा पोलिसी नविकरण गर्ने प्रक्रियाको समेत उद्घाटन गरेको छ।
प्रकाशित: २६ चैत्र २०७८, शनिबार