काठमाडौं ।
खगोलविद्हरूले अहिलेसम्मकै सबैभन्दा टाढाको र प्रारम्भिक ब्लाजार पत्ता लगाएका छन्। यो ब्लाजार विस्फोट भइरहेको सुपरम्यासिभ ब्ल्याक होलबाट बनेको हो, जसका प्लाज्मा जेटहरू सिधै पृथ्वीतर्फ लक्षित छन्।
ब्लाजार त्यतिबेला बन्छ जब सुपरम्यासिभ ब्ल्याक होलहरू ठूलो मात्रामा ग्यास र धुलोले घेरिएका हुन्छन् र तिनै पदार्थलाई ब्ल्याक होलले आफूतर्फ तानिरहेको हुन्छ। यस्तो क्षेत्रलाई सक्रिय ग्यालेक्टिक न्युक्लियस (एजीएन) भनिन्छ।
स्पेस डटकमका अनुसार यी विशाल ब्रह्माण्डीय पिण्डको अत्यधिक गुरुत्वाकर्षणका कारण वरपरको ग्यास र धुलो चम्किन्छ। त्यसैले एजीएनले आफू रहेको आकाशगंगाका सबै ताराहरूको संयुक्त प्रकाशभन्दा पनि बढी चम्किन सक्छन्।
तर यो मात्र होइन। ब्ल्याक होलले निलेको बाहेकको पदार्थ ब्ल्याक होलका दुई ध्रुवतर्फ पुग्छ र त्यहाँबाट प्रकाशको गतिनजिकको गतिमा चल्ने प्लाज्माका दुई जेटका रूपमा बाहिर निस्कन्छ।
यी घटनालाई क्वासार भनिन्छ। तर जब यी जेटहरू हाम्रो दृष्टिरेखासँग सिधा हुने गरी निस्कन्छन्, त्यस्तो क्वासारलाई ब्लाजार भनिन्छ। ब्लाजार ओपी ३१३ नाम दिइएको यस उच्च ऊर्जाको ब्लाजारबाट आएको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ अर्ब वर्ष लागेको छ।
यसको अर्थ हामीले यसलाई बिग ब्याङपछि करिब ५ अर्ब वर्ष बितेको समयको अवस्थामा देखिरहेका छौँ, जुन ब्रह्माण्डको इतिहासमा महत्वपूर्ण संक्रमणकाल थियो।
“करिब ११ अर्ब वर्षअघि ब्रह्माण्डले ‘कस्मिक नुन’ भनेर चिनिने अत्यधिक सक्रिय चरण अनुभव गरेको थियो। यस समयमा तारा र आकाशगंगा बन्ने दर निकै तीव्र थियो,” अनुसन्धान टोलीका सदस्य एक्सेल अर्बेट–एङ्गेल्सले एक विज्ञप्तिमा भने।
“यो अत्यधिक सक्रिय चरण सुस्त हुँदै गएपछि आकाशगंगाहरू विकसित र परिपक्व हुन थाले तथा ब्रह्माण्ड शान्त चरणमा प्रवेश गर्यो, जुन आजसम्म जारी छ।”
कस्मिक नुनको सुरुवात
ओपी ३१३ले अत्यन्त उच्च ऊर्जाका फोटोन अर्थात् गामा–किरणका रूपमा शक्तिशाली विकिरण उत्सर्जन गरेको समय कोस्मिक नुनको अवधिसँग सम्बन्धित थियो।
यो विकिरण पहिलोपटक डिसेम्बर २०२३ मा देखिएको थियो। त्यसपछि खगोलविद्हरूले स्पेनको ला पाल्मास्थित रोक दे लोस मुचाचोस वेधशालामा रहेका लार्ज साइज्ड टेलिस्कोप (एलएसटी-१) को प्रोटोटाइप र म्याजिक टेलिस्कोप प्रयोग गरेर थप अध्ययन गरे।
यसबाट ८ अर्ब प्रकाश वर्ष टाढाबाट आएका उच्च ऊर्जाका गामा–किरण पत्ता लागे। ती गामा–किरणको विश्लेषणले यस ब्लाजारको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होलले कसरी ब्रह्माण्डीय कण त्वरकको काम गरिरहेको छ भन्ने देखायो।
यी गामा–किरणहरू ब्रह्माण्ड हुँदै यात्रा गर्ने क्रममा ब्रह्माण्डको इतिहासभरि रहेका सबै तारा, आकाशगंगा र अन्य एजीएनबाट जम्मा भएको विकिरणसँग ठोक्किए। यसलाई एक्स्ट्राग्यालेक्टिक ब्याकग्राउन्ड (ईबीएल) भनिन्छ।
गामा–किरणहरू यस पुरानो प्रकाशसँग ठोक्किँदा इलेक्ट्रोन र पोजिट्रोनका जोडी बन्छन्। यस प्रक्रियालाई पेयर प्रोडक्सन भनिन्छ। यसले गामा–किरणको संकेतमा रहेका फोटोनको संख्या घटाउँछ।
एलएसटी-१ र म्याजिक प्रयोग गरेर अनुसन्धान टोलीले यसरी गामा–किरण घटेको अवस्थालाई मापन गर्न सफल भयो। यसबाट अत्यधिक शक्तिशाली गामा–किरण विकिरण ठूलो संख्यामा रहेका ‘रिलेटिभिस्टिक’ इलेक्ट्रोनबाट उत्पन्न भएको देखियो।
रिलेटिभिस्टिक भन्नाले प्रकाशको गतिनजिकको गतिमा यात्रा गर्ने भन्ने बुझिन्छ। ब्लाजारको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होलले यी कणलाई तीव्र गतिमा पुर्याउने इन्जिनको काम गरेको थियो।
“लेप्टोनिक सिनारियो भनिने प्रक्रियाअनुसार ओपी ३१३ को केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होलबाट निस्किएको शक्तिशाली प्लाज्मा जेटभित्र इलेक्ट्रोनहरू प्रकाशको गतिनजिकको गतिमा त्वरित भएका छन्,” जेनेभा विश्वविद्यालयका अनुसन्धान टोलीका सदस्य डोमेनिको डेला भोल्पेले भने।
“यी इलेक्ट्रोनहरू ब्ल्याक होल वरपर रहेका कम ऊर्जाका फोटोनसँग ठोक्किँदा तिनले आफ्नो ठूलो ऊर्जाको केही हिस्सा ती फोटोनमा स्थानान्तरण गर्छन्। यसले फोटोनलाई अत्यन्त उच्च ऊर्जासम्म पुर्याउँछ र धेरै उच्च ऊर्जाका गामा–किरणमा परिणत गर्छ।”
यी निष्कर्षले मानवले पत्ता लगाएका सबैभन्दा शक्तिशाली ब्रह्माण्डीय घटनामध्येका क्वासारबारे हाम्रो बुझाइलाई अघि बढाउन महत्वपूर्ण योगदान दिन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
अनुसन्धान टोलीको अध्ययन मंगलबार (अक्टोबर ६ मा एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको हो।
प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार