खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राऊ

  • Technology Khabar | २२ आश्विन २०८३, बिहीबार
खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राऊ
बिङ एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीको आधिकारिक कर्मचारी भएको भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राऊ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफू खल्तीको आधिकारिक कर्मचारी भएको बताउने, स्क्रिन सेयर गर्न लगाउने र ओटीपी कोड लिएर बैंक तथा वालेट खातामा अनधिकृत पहुँच बनाई रकम स्थानान्तरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपकुमार कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–३ का २३ वर्षीय सुभम कुमार झा, बाराको सिम्रौनगढ नगरपालिका–१० का २० वर्षीय अनिकेत यादव, रौतहटको ईशनाथ नगरपालिका–३ का २२ वर्षीय पवन कुमार चौधरी र रौतहटकै गरुडा नगरपालिका–९ का २१ वर्षीय रिसी गंगा रहेका छन्। उनीहरू हाल ललितपुरको हात्तीवन तथा थापाखेल क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीले असोज २१ गते दिउँसो ४ बजे ललितपुर महानगरपालिका–२८ हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टको १३ औँ तलामा रहेको कोठा नम्बर TE/1305 बाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध अनलाइन ठगी तथा लागूऔषधसम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २२ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार