एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआई माथि अनुसन्धान

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआई माथि अनुसन्धान

काठमाडौं ।

अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि व्यापक अनुसन्धान सुरु गरेको छ। ‘द वासिङ्टन पोस्ट’ ले बुधबार एफटीसीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै अनुसन्धानबारे जानकारी दिएको हो।

अमेरिकामा उपभोक्तालाई असर पार्ने अनुचित तथा भ्रामक अभ्यासको अनुसन्धान गर्ने एफटीसीलाई व्यापक अधिकार रहेको छ । यद्यपि अनुसन्धानको विस्तृत दायरा सार्वजनिक गरिएको छैन र अनुसन्धान सुरु हुँदैमा सम्बन्धित कम्पनीहरूले कुनै गलत काम गरेको आरोप प्रमाणित हुने अर्थ नलाग्ने अधिकारीले स्पष्ट गरेका छन्।

एआई सुरक्षाबारे विश्वव्यापी चिन्ता बढिरहेका बेला एफटीसीको अनुसन्धान अघि बढेको हो। एन्थ्रोपिक र ओपनएआई दुवैले आफ्ना एआई प्रणाली निर्धारित वातावरणभन्दा बाहिर सञ्चालन भएका घटनाबारे जानकारी दिएका छन्।

त्यस्ता घटनामध्ये ओपनएआईका एजेन्टहरू अर्को एआई कम्पनी ‘हगिङ फेस’ को प्रणालीमा प्रवेश गर्ने क्रममा स्यान्डबक्सबाट बाहिरिएको घटनासमेत रहेको छ। एआई प्रणालीलाई निश्चित सीमाभित्र सञ्चालन गराउन प्रयोग गरिने सुरक्षा वातावरणबाट बाहिरिनुलाई सुरक्षासम्बन्धी चिन्ताको विषय मानिएको छ।

ओपनएआईले एआई सुरक्षासम्बन्धी चिन्ताका कारण सोमबार एउटा मोडल सार्वजनिक गर्ने निर्णयसमेत रद्द गरेको छ। यसैबीच एन्थ्रोपिक र ओपनएआईका अधिकारीहरूले एआई सुरक्षा उपाय थप बलियो बनाउन समन्वयात्मक रूपमा विकासको गति केही समय सुस्त बनाउने प्रस्तावसमेत अघि सारेका छन्।

एफटीसीको अनुसन्धानले एआई कम्पनीहरूले विकास गरिरहेका प्रविधिको सुरक्षा, उपभोक्तामाथि पर्न सक्ने प्रभाव तथा कम्पनीका सुरक्षा अभ्यासप्रति अमेरिकी नियामक निकायको चासो बढेको देखाएको छ।–रासस

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...