चीनले बाइटडान्स र अलिबाबालाई नयाँ एनभिडिया चिप किन्न अनुमति दिन सक्ने

  • Technology Khabar | १४ आश्विन २०८३, बुधबार
चीनले बाइटडान्स र अलिबाबालाई नयाँ एनभिडिया चिप किन्न अनुमति दिन सक्ने
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

चीन सरकारले बाइटडान्स र अलिबाबालगायत केही घरेलु कम्पनीलाई एनभिडियाले उच्चस्तरीय व्यावसायिक कम्प्युटरका लागि बनाएको नयाँ चिप खरिद गर्न अनुमति दिन सक्ने संकेत गरेको ‘द इन्फर्मेसन’ले जनाएको छ।

मामलाबारे जानकार दुई व्यक्तिलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार, चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले हालै बाइटडान्स र अलिबाबालगायत कम्पनीलाई एनभिडियाको ‘आरटीएक्स प्रो ५५००’ चिप खरिद गर्ने आफ्नो योजनाबारे जानकारी दिन भनेको थियो।

मन्त्रालयले केही चिनियाँ कम्पनीलाई सरकारले उक्त चिप खरिदलाई स्वीकृति दिने तयारी गरेको जानकारी दिएको ‘द इन्फर्मेसन’को रिपोर्टमा उल्लेख छ। उद्योग क्षेत्रका केही अधिकारीले आरटीएक्स प्रो ५५०० चिप अमेरिकी निर्यात प्रतिबन्धबाट बाहिर रहन सक्ने अपेक्षा गरेको पनि रिपोर्टमा जनाइएको छ।

उक्त रिपोर्टलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको रोयटर्सले उल्लेख गरेको छ।

रिपोर्टबारे प्रतिक्रिया माग्दा एनभिडियाका प्रवक्ताले अमेरिकी कम्पनीमाथि करिब पाँच वर्षअघि सार्वजनिक भएका गेमिङ उत्पादनसमेत समेट्ने पुराना अमेरिकी निर्यात नियन्त्रण र चीनले अमेरिकी उत्पादनको आयातमा लगाएको आफ्नै सीमाका कारण प्रतिबन्ध जारी रहेको बताए।

अलिबाबा र बाइटडान्सले प्रतिक्रियाका लागि गरिएको अनुरोधमा तत्काल जवाफ दिएनन्। चिनियाँ सरकारसँग पनि तत्काल प्रतिक्रिया लिन नसकिएको रोयटर्सले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार