काठमाडौं ।
इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक बाइ नाउ, पे लेटर (बीएनपीएल) सेवा सार्वजनिक गरेको छ। यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन्।
यसै सम्बन्धमा गत असोज ८ गते इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर भएको थियो।
साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्ट प्रालिका तर्फबाट मनन तुलाधरले हस्ताक्षर गरेका थिए।
यस साझेदारीअन्तर्गत ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत बीएनपीएल सुविधा लिन सक्ने छन्। रिलायन्स फाइनान्सले यस सुविधाअन्तर्गत वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउने बताईएको छ।
ग्राहकहरूले विद्युतीय स्कुटर खरिदका लागि सहज र डिजिटल माध्यमबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले इसेवा एपबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी बीएनपीएल सुविधा लिन सक्नेछन्।
कम्पनीका अनुसार रिलायन्स फाइनान्सले विद्युतीय स्कुटर खरिदका लागि ग्राहकहरूलाई ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा प्रदान गर्नेछ। ग्राहकहरूले अधिकतम ३६ महिनासम्मको सहज किस्ताबन्दीमा उक्त ऋण चुक्ता गर्न सक्ने छन्। यसले ग्राहकलाई एकैपटक ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै आवश्यकताअनुसार किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्ने जनाएको छ।
प्रकाशित: १४ आश्विन २०८३, बुधबार