रुसले युक्रेनको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायकको मुख्यालयमा आक्रमण गर्‍यो

  • Technology Khabar | १३ आश्विन २०८३, मंगलवार
रुसले युक्रेनको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायकको मुख्यालयमा आक्रमण गर्‍यो

काठमाडौं ।

रुसले युक्रेनको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक किभस्टारको मुख्यालयमा आइतबार आक्रमण गरेको कम्पनीले स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ।

रुसले युक्रेनका डेटा सेन्टर र सञ्चार पूर्वाधारमा लगातार आक्रमण गरिरहेका बेला किभस्टारको मुख्यालयमा पनि आक्रमण भएको हो।

रोयटर्सका अनुसार किभस्टारले इन्टरफ्याक्स युक्रेन समाचार संस्थालाई किभस्थित आफ्नो मुख्य कार्यालयमा आक्रमण भएको तर कुनै मानवीय क्षति नभएको जनाएको छ। रुसको रक्षा मन्त्रालयले पनि आइतबार युक्रेनको दोस्रो ठूलो मोबाइल नेटवर्क प्रदायक भोडाफोन युक्रेनको डाटा सेन्टरमा आक्रमण गरेको जनाएको छ।

भोडाफोन युक्रेनले यसबारे प्रतिक्रिया दिन रोयटर्सको अनुरोधमा तत्काल जवाफ दिएन।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बिहान रुसले किभस्थित एउटा डेटा सेन्टरमा दुई पटक आक्रमण गरेको र त्यसमा दुई बालबालिका तथा एक वयस्क घाइते भएको बताएका छन्।

युक्रेनको डिजिटल मन्त्रालयका अनुसार रुसले पछिल्लो एक सातामा युक्रेनका इन्टरनेट सेवा प्रदायकका डेटा सेन्टरमा पनि आक्रमण गरेको छ। ती आक्रमणका कारण किभ र आसपासका क्षेत्रमा करिब १ लाख घरधुरीको इन्टरनेट तथा सञ्चार सेवा प्रभावित भएको मन्त्रालयले जनाएको छ।

“रुसले सूचना प्रवाह अवरुद्ध गर्ने उद्देश्यले युक्रेनका प्रमुख डाटा सेन्टरलाई निशाना बनाएको छ। क्षेप्यास्त्र र ड्रोनको खतराबारे छिटो सूचना दिनु आवश्यक छ—यसले ज्यान बचाउँछ,” युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले बुधबार एक्समा लेखेका थिए।

प्रकाशित: १३ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...