काठमाडौं ।
संगीत सिर्जनाका लागि एआई अर्थात् कृत्रिम बुद्धिमत्तामा आधारित प्लेटफर्म विकास गर्ने कम्पनी सुनोले अनुमति नलिई प्रतिलिपि अधिकार सुरक्षित रहेका सामग्री प्रयोग गरेर आफ्ना मोडेललाई तालिम दिएको आरोपमा प्रमुख रेकर्ड कम्पनीहरूले मुद्दा दायर गरेका छन्।
मुद्दामा कम्पनीहरूले प्रतिलिपि अधिकार भएका ठूलो संख्याका संगीत रेकर्डिङ अनुमति नलिई नक्कल गरेर प्रयोग गरेको आरोप सुनोमाथि लगाएका छन्।
युनिभर्सल म्युजिक ग्रुप र सोनी म्युजिकसहित अन्य केही रेकर्ड कम्पनीहरूले दायर गरेको नयाँ मुद्दामा सुनोले युट्युबबाट प्रतिलिपि अधिकार सुरक्षित रहेका रेकर्डिङ गैरकानुनी रूपमा डाउनलोड गर्न प्रविधि प्रयोग गरेको आरोप लगाइएको छ। मुद्दामा करिब ६० हजार गीतसँग सम्बन्धित दाबी समावेश छन्।
टेलिग्राफका अनुसार सुनोविरुद्ध व्यक्तिगत कलाकारहरूले पनि मुद्दा दायर गरेका छन्। संगीतकार जेसन इस्बेलसहित अन्य केही कलाकारले आफ्नो अनुमति नलिई उनीहरूको पहिचान र सिर्जना प्रयोग गरेर संगीत उत्पादन गरेको आरोप कम्पनीमाथि लगाएका छन्।
सुनोले यी आरोपहरू आधारहीन रहेको बताउँदै अदालतमा चुनौती दिने जनाएको छ।
यो मुद्दा प्रतिलिपि अधिकार सुरक्षित रहेका गीत र रेकर्डिङलाई कृत्रिम बुद्धिमत्तामा आधारित प्रणालीको तालिमका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा संगीत उद्योग र कृत्रिम बुद्धिमत्ता कम्पनीहरूबीच चलिरहेको व्यापक कानुनी विवादको एउटा हिस्सा हो।
प्रकाशित: १३ आश्विन २०८३, मंगलवार