ड्रोन विकासमा लोकतान्त्रिक साझेदारसँग सहकार्य बढाउनुपर्ने ताइवानी राष्ट्रपति लाइको भनाइ

  • Technology Khabar | १३ आश्विन २०८३, मंगलवार
ड्रोन विकासमा लोकतान्त्रिक साझेदारसँग सहकार्य बढाउनुपर्ने ताइवानी राष्ट्रपति लाइको भनाइ
बिङ एआईमार्फत निर्मित सांकेतिक तस्बिर।

काठमाडौं ।

ताइवानले आधुनिक युद्धमा महत्वपूर्ण बन्दै गएका ड्रोन विकासका लागि लोकतान्त्रिक साझेदार राष्ट्रसँग सहकार्य थप गहिरो बनाउनुपर्ने राष्ट्रपति लाइ चिङ–तेले बताएका छन्।

दक्षिणी ताइवानको चियायीमा नयाँ ड्रोन विकास केन्द्रको शिलान्यास समारोहमा सोमबार बोल्दै लाइले अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनसँगै केन्द्रको महत्व थप बढेको बताए।

“युक्रेनको युद्धक्षेत्रदेखि इन्डो–प्यासिफिक क्षेत्रीय सुरक्षासम्म, मानवरहित प्रणाली आधुनिक रक्षामा महत्वपूर्ण युद्ध क्षमताका रूपमा स्थापित भएका छन्,” लाइले भने।

उनले लोकतान्त्रिक साझेदारसँग सहकार्य बढाएर सुरक्षित र थप लचिलो मानवरहित विमान आपूर्ति शृंखला निर्माण गर्नुपर्ने बताए। यसले इन्डो–प्यासिफिक क्षेत्रको शान्ति र स्थायित्वका लागि बलियो सहयोग पुग्ने उनको भनाइ छ।

रोयटर्सका अनुसार ताइवानसँग विश्वस्तरीय सेमिकन्डक्टर तथा सूचना तथा सञ्चार प्रविधि क्षमता रहेको छ। साथै, सटीक उत्पादनमा समेत ताइवानको बलियो आधार रहेको बताइएको छ।

चीनबाट बढ्दो सैन्य दबाबका बीच ताइवान सरकारले रक्षा आधुनिकीकरण र रक्षा खर्च वृद्धि नीतिलाई प्राथमिकतामा राखेको छ। चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ।

ताइवानको मन्त्रिपरिषद्ले यसै महिनाको सुरुवातमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरोधी प्रणालीसहितका रक्षा उपकरणका लागि यस वर्ष थप १४५.७ अर्ब ताइवानी डलर अर्थात् करिब ४.५९ अर्ब अमेरिकी डलर खर्च गर्ने प्रस्ताव गरेको थियो।

उक्त योजनामा ६०० भन्दा बढी तटीय निगरानी तथा खोजी ड्रोन, ४० हजारभन्दा बढी तटीय आक्रमणकारी ड्रोन र १०० भन्दा बढी साना आत्मघाती ड्रोन डुंगाको पहिलो खेप समावेश छ।

लाइ र उनको सरकारले बेइजिङको सार्वभौमसत्तासम्बन्धी दाबी अस्वीकार गर्दै ताइवानको भविष्यबारे निर्णय गर्ने अधिकार त्यहाँका जनतामात्रै भएको बताउँदै आएका छन्।

प्रकाशित: १३ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...