काठमाडौं ।
गुगलले भारतका प्रयोगकर्ताले जेमिनी र एआई मोडमार्फत वालमार्टको स्वामित्वमा रहेको फ्लिपकार्टबाट सिधै सामान किन्न सक्ने सुविधा परीक्षण सुरु गरेको छ। सर्च कम्पनीले आफ्ना एआई सेवामार्फत उत्पादन खोज्ने सुविधाबाट अगाडि बढेर सिधै सामान खरिद गर्ने प्रक्रिया पनि उपलब्ध गराउने प्रयास गरिरहेको छ।
यस परीक्षणमा जेमिनी र गुगलको एआई मोडमा देखाइएका फ्लिपकार्टका केही उत्पादनमा ‘बाइ’ बटन देखिन्छ। उक्त बटन थिच्दा एआई इन्टरफेसबाट बाहिर ननिस्की प्रयोगकर्ता सिधै फ्लिपकार्टको चेकआउट प्रक्रियामा पुग्छन्। यसबारे जानकारी भएका व्यक्तिहरू र टेकक्रन्चले देखेको परीक्षण अनुभवका आधारमा यस्तो जानकारी सार्वजनिक भएको हो।
टेकक्रन्चका अनुसार प्रारम्भिक परीक्षण केही प्रयोगकर्ता र सीमित उत्पादनमा मात्र लागू गरिएको छ। यसमा स्मार्टफोन, इलेक्ट्रोनिक्स र मोबाइल सामग्रीलगायतका उत्पादन छन्। अन्य प्रयोगकर्ताले भने जेमिनी र एआई मोडमा फ्लिपकार्टका सामान्य उत्पादन सूची मात्र देख्छन् र एआई इन्टरफेसबाटै सिधै खरिद गर्ने विकल्प पाउँदैनन्।
एक स्रोतका अनुसार गुगलले अक्टोबरको अन्त्यतिर यो सुविधा थप प्रयोगकर्तामाझ विस्तार गर्ने योजना बनाएको छ। यो भारतको चाडपर्वको किनमेलको मौसम सुरु हुनुअघि विस्तार गर्ने तयारी हो।
गुगल र ओपनएआईलगायतका प्रतिस्पर्धी कम्पनीहरूले आफ्ना एआई सेवामा व्यापारसम्बन्धी सुविधा थपिरहेका बेला यो परीक्षण भएको हो। उनीहरूले किनमेलसम्बन्धी प्रश्नको जवाफ दिने र उत्पादन सिफारिस गर्नेभन्दा अगाडि बढेर अनलाइन खरिद प्रक्रियामा एआईको प्रत्यक्ष भूमिका बढाउन प्रयास गरिरहेका छन्।
फ्लिपकार्टको परीक्षणबारे सोध्दा गुगलका प्रवक्ताले टेकक्रन्चलाई कम्पनीले “मानिसलाई व्यवसाय खोज्न र उनीहरूसँग सजिलै जोडिन सहयोग गर्ने नयाँ सुविधा र अनुभवहरू निरन्तर परीक्षण गरिरहेको” बताए। कम्पनीले नियमित रूपमा यस्ता परीक्षण गर्ने र यसबारे थप जानकारी दिन नसकिने प्रवक्ताले बताए।
टेकक्रञ्चका अनुसार गुगलले आफ्ना एआई सेवामार्फत खरिद सम्भव बनाउने प्रविधि पनि छुट्टै विकास गर्दै आएको छ। यस वर्षको सुरुवातमा कम्पनीले युनिभर्सल कमर्स प्रोटोकल (यूसीपी) सार्वजनिक गरेको थियो। यो एआई एजेन्टलाई किनमेल प्रक्रियाका विभिन्न चरणमा खुद्रा विक्रेतासँग अन्तरक्रिया गर्न दिने खुला मापदण्ड हो। यसमा चेकआउट प्रक्रिया पनि समावेश छ।
त्यतिबेला गुगलले यूसीपीमार्फत जेमिनी र एआई मोड प्रयोग गरेर योग्य उत्पादन गुगलले उपलब्ध गराएको चेकआउट प्रणालीमार्फत खरिद गर्न सकिने बताएको थियो। कम्पनीले पछि यूसीपीमा थप सुविधा थपेको थियो। यसअन्तर्गत प्रयोगकर्ताले खरिद पूरा गर्न सामानलाई खुद्रा विक्रेताको वेबसाइटमा पठाउन सक्ने सुविधा पनि समावेश छ।
टेकक्रन्चले देखेको फ्लिपकार्टको परीक्षण भने गुगलले यसअघि देखाएको गुगलको आफ्नै चेकआउट प्रणालीभन्दा फरक देखिन्छ। ‘बाइ’ बटन थिच्दा फ्लिपकार्टकै ब्रान्ड भएको चेकआउट प्रक्रिया खुल्छ। यो परीक्षणमा कुन प्रविधि प्रयोग भएको छ भन्ने स्पष्ट छैन।
यसै महिनाको सुरुवातमा गुगलले भारतका उपभोक्ताका लागि आफूले ‘एजेन्टिक’ किनमेल अनुभव भनेको सुविधा ल्याउन सहकार्य गरिरहेका व्यापारीमध्ये फ्लिपकार्ट पनि रहेको जनाएको थियो। तर कम्पनीले त्यसबेला परीक्षणको विस्तृत विवरण वा विस्तारको समय भने सार्वजनिक गरेको थिएन।
गुगलको फ्लिपकार्टसँग प्रविधिसम्बन्धी साझेदारीका साथै आर्थिक सम्बन्ध पनि रहेको छ। सन् २०२४ मा अमेरिकी खुद्रा कम्पनीको नेतृत्वमा भएको लगानी चरणमा गुगलले फ्लिपकार्टमा करिब ३५ करोड डलर लगानी गरेको थियो। त्यसबाट गुगलले कम्पनीमा अल्पमतको स्वामित्व लिएको थियो।
एक अर्बभन्दा बढी इन्टरनेट सदस्य रहेको विश्वको दोस्रो ठूलो इन्टरनेट बजार भारतमा अनलाइन ग्राहकका लागि फ्लिपकार्ट र अमेजनबीच कडा प्रतिस्पर्धा छ। भारतको चाडपर्वको मौसममा यो प्रतिस्पर्धा अझ बढ्छ, किनकि ई–कमर्स कम्पनीहरूले वर्षकै ठूला बिक्री अभियान र छुट योजना सञ्चालन गर्छन्।
हाल गुगलका एआई सेवामा देखाइने सबै खुद्रा विक्रेताका उत्पादनमा ‘बाइ’ विकल्प उपलब्ध छैन। टेकक्रन्चले देखेको परीक्षणमा अमेजनलगायत प्रतिस्पर्धी कम्पनीका उत्पादन पनि फ्लिपकार्टका उत्पादनसँगै देखिएका थिए, तर ती उत्पादनलाई एआई इन्टरफेसबाटै सिधै खरिद गर्ने विकल्प थिएन।
प्रकाशित: १२ आश्विन २०८३, सोमबार