मंगल ग्रहमा प्राचीन तातोपानीको प्रमाण फेला, पर्सिभरेन्स रोभरले गर्‍यो अध्ययन

  • Technology Khabar | ९ आश्विन २०८३, शुक्रबार
मंगल ग्रहमा प्राचीन तातोपानीको प्रमाण फेला, पर्सिभरेन्स रोभरले गर्‍यो अध्ययन
तस्बिर: स्पेस डटकम

काठमाडौं ।

नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहको जेजेरो क्रेटरमा पानी र चट्टानबीच पटकपटक प्रतिक्रिया भएको प्रमाण फेला पारेको छ। यसमा कुनै समय भूमिगत तातोपानी सक्रिय रहेको प्रमाणसमेत भेटिएको छ।

नयाँ अध्ययनअनुसार मंगल ग्रह अहिलेको भन्दा धेरै पानीयुक्त र भूगर्भीय रूपमा बढी सक्रिय ग्रह हुन सक्थ्यो। त्यतिबेला विभिन्न स्वरूपमा पानी बारम्बार चट्टानभित्र र वरपर बग्ने गरेको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।

स्पेस डटकमका अनुसार यो खोज मंगल ग्रहको जेजेरो क्रेटरको किनारमा रहेको ‘मार्जिन युनिट’ नामक क्षेत्रमा गरिएको हो। नासाको पर्सिभरेन्स रोभरले सन् २०२३ देखि यस क्षेत्रको अध्ययन गरिरहेको छ।

अमेरिकी अन्तरिक्ष निकायका अनुसार रोभरले गरेको अवलोकनबाट मंगल ग्रहका चट्टान र पानीबीच कम्तीमा तीन फरक समयमा अन्तरक्रिया भएको प्रमाण फेला परेको छ। तीमध्ये एउटा घटना प्राचीन सतहको मुनि तातोपानीको भूमिगत प्रवाहसँग सम्बन्धित थियो।

मार्जिन युनिट क्षेत्र क्रेटरको भित्री किनारमा फैलिएको छ। यसको पहिचान मंगल ग्रहको कक्षबाट गरिएको अवलोकनका आधारमा भएको थियो। वैज्ञानिकहरूले सुरुमा पर्सिभरेन्सले कुनै समय जेजेरो क्रेटरमा रहेको प्राचीन तालको किनारमा थुप्रिएका अवसादी चट्टान भेट्ने अपेक्षा गरेका थिए।

तर, रोभरले त्यसको सट्टा आग्नेय चट्टान फेला पार्‍यो। यी चट्टानहरू जमिनमुनि गहिराइमा रहेको पग्लिएको पदार्थबाट वा ज्वालामुखी गतिविधिका कारण बनेका थिए। अप्रत्याशित रूपमा भेटिएका यी चट्टानले पानीको गतिविधिबारे जटिल प्रमाण सुरक्षित राखेका छन्।

अध्ययनकी प्रमुख लेखक तथा अमेरिकाको इन्डियाना राज्यस्थित पर्ड्यु विश्वविद्यालयकी अनुसन्धान वैज्ञानिक क्यान्डिस बेडफोर्डले भनिन्, “हामी मार्जिन युनिटमा पुग्नुअघि कक्षबाट गरिएको अवलोकनका आधारमा मुख्य अनुमान के थियो भने जेजेरो क्रेटरमा रहेको तालको पानीसँगको अन्तरक्रियाका कारण कक्षबाट देखिएको कार्बोनेट बनेको थियो।”

उनले भनिन्, “तर अहिले हामीलाई यो स्थान विभिन्न जल प्रणालीको संगमस्थल बनेको थियो भन्ने थाहा भएको छ। मार्जिन युनिटबाट प्राप्त निष्कर्ष महत्त्वपूर्ण छन्, किनभने जेजेरो क्रेटर मंगल ग्रहमा कार्बोनेट चट्टानको सबैभन्दा ठूलो क्षेत्रमध्ये एकभित्र अवस्थित छ। त्यसैले यहाँबाट प्राप्त ज्ञान यो क्रेटरभन्दा बाहिरका क्षेत्रका लागि पनि उपयोगी हुनेछ।”

अनुसन्धानकर्ताहरूले पर्सिभरेन्सको सुपरक्याम उपकरण प्रयोग गरेर मार्जिन युनिटका १८५ भन्दा बढी चट्टानी सतहको विश्लेषण गरेका थिए। उनीहरूले विभिन्न समयमा पानीका कारण चट्टानमा परिवर्तन भएको प्रमाण फेला पारे।

पर्सिभरेन्स Perseverance ROver
पर्सिभरेन्स रोभर

पहिलो चरणमा कार्बन डाइअक्साइडयुक्त भूमिगत पानीले ओलिभिन नामक खनिजसँग प्रतिक्रिया गरेको थियो। ओलिभिन म्याग्मा बिस्तारै चिसिएर बनेको खनिज हो। यस प्रतिक्रियाबाट चट्टानभित्रका चिरामा कार्बोनेट खनिज बनेका थिए।

त्यसपछिको चरणमा जेजेरोको प्राचीन तालको पानीको भूमिका रहेको देखिएको छ। केही चट्टानमा सिलिका फेला परेको छ। ओलिभिनले पानीसँग प्रतिक्रिया गर्दा सिलिका बन्न सक्छ। प्राचीन तालको पानीको सतहमुनि रहेका चट्टानमा यो खनिज विशेष रूपमा प्रशस्त पाइन्छ।

तेस्रो चरणमा भने अझ तातो पानीको गतिविधि भएको थियो। मार्जिन युनिटको पूर्वी क्षेत्रमा क्याल्सियम सल्फेट र फ्लोराइट खनिज भएका नसाहरू फेला परेका छन्। यसले कुनै समय ज्वालामुखीबाट बनेका चट्टानभित्र तातोपानी बगेको संकेत गर्छ।

पृथ्वीमा जलतापीय प्रणालीले सूक्ष्म जीवको जीवनलाई सहयोग गर्न सक्ने वातावरण सिर्जना गर्न सक्छन्। त्यसैले मंगल ग्रहको प्राचीन पानी प्रणाली वैज्ञानिकहरूका लागि विशेष चासोको विषय बनेका छन्। यसले मंगल ग्रहमा विगतमा जीवनका लागि उपयुक्त अवस्था थियो कि थिएन भन्ने अध्ययनमा सहयोग पुर्‍याउन सक्छ।

अनुसन्धानकर्ताहरूले यी तीन घटनाको क्रम पुनर्निर्माण गर्न सके पनि प्रत्येक घटना ठ्याक्कै कहिले भएको थियो भन्ने निर्धारण गर्न सकेका छैनन्। तर, घटनाहरूको क्रमले मार्जिन युनिट केवल प्राचीन तालको किनार मात्र नभएको देखाउँछ।

यो भूमिगत पानी, सतहको पानी र तातो तरल पदार्थले मंगल ग्रहका चट्टानसँग अन्तरक्रिया गरेको स्थान थियो । यसले समयसँगै मंगल ग्रहको वातावरण कसरी परिवर्तन भयो भन्ने जटिल प्रमाण सुरक्षित राखेको हुन सक्छ। यी चट्टानमा रहेका कार्बोनेट खनिजले मंगल ग्रहमा कुनै समय जीवनका लागि उपयुक्त अवस्था कहाँ र कहिले थियो भन्ने पत्ता लगाउन वैज्ञानिकहरूलाई सहयोग गर्न सक्छन्।

बेडफोर्डले भनिन्, “मंगल ग्रहका रोभरसँग १० वर्ष काम गरेपछि मैले सिकेको एउटा कुरा के हो भने मंगल ग्रहले निरन्तर आश्चर्यमा पारिरहन्छ। कक्षबाट प्राप्त तथ्यांकका आधारमा हामीले अपेक्षा गरेजस्तै कुरा भेटिनु निकै दुर्लभ छ।”

उनले थपिन्, “यो अनुसन्धानले जेजेरो क्रेटर र समग्र मंगल ग्रहमा पानीको इतिहासलाई वैज्ञानिकहरूले हेर्ने दृष्टिकोण परिवर्तन गर्न सहयोग गर्ने आशा गरेको छु। अन्ततः यसले ग्रह विज्ञानका अनुसन्धानकर्तालाई प्रारम्भिक मंगल ग्रहको बदलिँदो जलवायु र जीवनका लागि उपयुक्त अवस्थाको पुनर्निर्माण गर्न सहयोग गर्नेछ भन्ने मेरो अपेक्षा छ।”

अनुसन्धानका निष्कर्ष सेप्टेम्बर २१ मा ‘कम्युनिकेसन्स अर्थ एन्ड इन्भाइरोन्मेन्ट’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएका छन्।

प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...