काठमाडौं ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भुषालसँग भेट गरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ।
छलफलमा नाडाका अध्यक्ष उप्रेतीले यही गत १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा आएको बाढीका कारण दशैको समयलाई ध्यानमा राखी सयौँको सङ्ख्यामा चीनबाट आयातित सवारी साधनहरुमध्ये धेरै सङ्ख्यामा रसुवा नाकाबाट बाढीले बगाएको सन्दर्भमा जानकारी दिँदै पीडित पैठारीकर्ताहरुले सरकारका तर्फबाट पाउनु पर्ने राहतका विषयमा छिटोभन्दा छिटो कार्यान्वयनका लागि समेत आग्रह गरे।
छलफलको सिलसिलामा नाडाका महासचिव मिलनबाबु मल्लले चीनको सीमा भन्सार नखुलेका कारण उक्त क्षेत्रमा पाँच सयभन्दा बढी सवारी साधनहरु रोकिएको भन्दै त्यसको सहजीकरणका लागि अनुरोध गरे।
त्यसैगरी उनले अहिलेसम्म ११ सिटे विद्युतीय माइक्रोबसहरु नछुटेको जानकारी दिँदै यसका लागि समेत पहल गरिदिन अनुरोध गरे।
छलफलको अन्त्यमा महानिर्देशक भुषालले सरकारले पीडित व्यवसायीहरुका लागि के कस्ता सुविधा र सहुलियतहरु के कसरी दिने हो त्यसको मोडालिटिका सम्बन्धमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयविच गृहकार्य भइरहेको जानकारी दिए।
उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति र विक्रम सिंघानिया, सचिव मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो।
प्रकाशित: ८ आश्विन २०८३, बिहीबार