काठमाडौं ।
क्लाउड कम्पनी ओर्याकलले लागत नियन्त्रण गर्न खोजिरहेका बेला पुनर्संरचना खर्च करिब ७० करोड डलरले बढ्ने जनाएको छ। पुनर्संरचना योजनामा कर्मचारी कटौती पनि समावेश छ। कृत्रिम बुद्धिमत्तासम्बन्धी सेवाको बढ्दो माग पूरा गर्न कम्पनीले अर्बौं डलर लगानी गरिरहेको छ।
शुक्रबार नियामकीय फाइलिङमार्फत ओर्याकलले अगस्टमा समाप्त भएको त्रैमासिक अवधिपछि पुनर्संरचना खर्च बढेको जनाएको हो। यससँगै आर्थिक वर्ष २०२६ को पुनर्संरचना योजनाको अनुमानित खर्च करिब २.८ अर्ब डलर पुगेको छ।
कम्पनीका अनुसार यस योजनामा कर्मचारीलाई दिइने बिदाइ रकम, सम्झौता समाप्त गर्दा लाग्ने खर्च तथा अन्य खर्च समावेश छन्। केही काममा कृत्रिम बुद्धिमताको प्रयोग बढाउनु पनि यस योजनासँग सम्बन्धित रहेको कम्पनीले जनाएको छ।
ओर्याकलले आफ्नो सेयरमा उतारचढाव देखिएको समयमा कर्मचारी कटौतीको योजना अघि बढाएको हो। लगानीकर्ताहरू ओर्याकलको कृत्रिम बुद्धिमतामा आधारित वृद्धि हुनेमा विश्वस्त देखिए पनि त्यसका लागि कम्पनीले कसरी लगानी जुटाइरहेको छ भन्ने विषयमा चिन्तित देखिन्छन्।
रोयटर्सका अनुसार शुक्रबार ओर्याकलको बाँकी बिक्री आदेश २६ अर्ब डलरले बढेको खबरपछि कम्पनीको सेयर मूल्य ७.८ प्रतिशतसम्म बढेको थियो। यसले ऋणमा आधारित ठूलो लगानीबारे केही चिन्ता कम गरेको थियो।
तर पछि सेयर मूल्य पुनः घटेर दिनको कारोबार करिब २ प्रतिशत गिरावटमा बन्द भयो। विश्लेषकहरूले कम्पनीको नगद प्रवाहमा सुधार आउन अझै केही समय लाग्ने बताएका छन्।
ओर्याकलको ६६४ अर्ब डलरको बाँकी बिक्री आदेशमध्ये करिब आधा आगामी ३६ महिनाभित्र बिक्रीमा परिणत हुने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार नयाँ सम्झौताबाट प्राप्त हुने आम्दानीको ठूलो हिस्साका लागि आफ्नै पुँजी आवश्यक पर्ने छैन। क्षमता विस्तारका लागि कम्पनीले ग्राहकबाट अग्रिम भुक्तानी र ग्राहककै चिप आपूर्तिमा निर्भर रहने जनाएको छ।
यससँगै पहिलो त्रैमासिकको राम्रो आम्दानी र कम्पनीको वित्तीय अवस्थामा आएको सुधारले केही समय कमजोर प्रदर्शन गरेको ओर्याकलको सेयर मूल्यमा सुधार ल्याउन सहयोग गरेको छ।
शुक्रबारको कारोबार बन्द हुँदा ओर्याकलको सेयर मूल्य यस वर्ष करिब २३ प्रतिशत घटेको छ। सोही अवधिमा एस एन्ड पी ५०० सूचकांक भने करिब १२ प्रतिशत बढेको छ। कृत्रिम बुद्धिमतामा ओर्याकलले गरिरहेको महँगो लगानी र कृत्रिम बुद्धिमताको युगमा कम्पनीको परम्परागत सफ्टवेयर व्यवसायको सम्भाव्यतामाथि लगानीकर्ताले प्रश्न उठाएका छन्।
मर्निङस्टारका विश्लेषक लुक याङले भने, “नगद प्रवाहमा परेको दबाब कम गर्न ओर्याकलले ग्राहकलाई प्राविधिक हार्डवेयरको केही खर्च बेहोर्न आग्रह गरे पनि कम्पनीको नगद प्रवाहमा तत्कालै परिवर्तन आउने हामीले देखेका छैनौं।”
उनका अनुसार क्लाउडबाट हुने आम्दानी क्षमता विस्तारलाई निरन्तरता दिन र त्यससँगै सकारात्मक नगद प्रवाह सिर्जना गर्न सक्ने स्तरमा पुग्न वर्षौं लाग्नेछ।
घटकको लागत बढिरहेका बेला र अमेरिकामा डेटा सेन्टर निर्माणविरुद्धको विरोध बढिरहेका समयमा ओर्याकलको वित्तीय व्यवस्थापन र डेटा सेन्टरको नाफासम्बन्धी जोखिम पनि रहेको छ।
ओर्याकलले चालु आर्थिक वर्षमा ऋण तथा इक्विटीमार्फत ४० अर्ब डलर जुटाउने जनाएको छ। यसमा पहिलो त्रैमासिकमा सम्पन्न गरेको २० अर्ब डलरको सेयर बिक्री पनि समावेश छ।
एलएसईजीले संकलन गरेको तथ्यांकअनुसार बिहीबार ओर्याकलले ५.४० अर्ब डलर नकारात्मक स्वतन्त्र नगद प्रवाह रिपोर्ट गरेको थियो। यो विश्लेषकहरूले अनुमान गरेको ९.५६ अर्ब डलर नगद खर्चभन्दा कम हो।
एभरकोरका विश्लेषकहरूले भने, “नतिजाले ठूलो स्तरमा तीव्र गतिमा आम्दानी वृद्धि गरिरहेको कम्पनी र लगानीकर्ताबीचको छलफललाई सन्तुलित बनाउन महत्वपूर्ण सुधार देखाएको छ। कम्पनीको ऋण भार चिन्ताको विषय भए पनि व्यवसायका सकारात्मक पक्षहरू ओझेलमा परेका थिए।”
ओर्याकलको सेयर हाल भविष्यको अनुमानित आम्दानीको १६.८६ गुणा मूल्यमा कारोबार भइरहेको छ। माइक्रोसफ्टको यस्तो अनुपात २३.८४ गुणा र अमेजनको २२.५८ गुणा छ।
प्रकाशित: ३० भाद्र २०८३, मंगलवार