काठमाडौं ।
एक्समा एक टिपस्टरले गरेको नयाँ दाबीअनुसार वानप्लसले आगामी वानप्लस १६ भारतमा सार्वजनिक नगर्न सक्छ। यसको सट्टा वानप्लस १६आर भारतमा कम्पनीको अर्को फ्ल्यागसिप फोन बन्नेछ। त्यसपछि नयाँ नर्ड सिरिज र एन सिरिजका फोन सार्वजनिक हुने बताइएको छ।
पछिल्ला वर्षहरूमा वानप्लसले नयाँ फ्ल्यागसिप नम्बर सिरिजको फोनसँगै आर सिरिजको मोडल पनि सार्वजनिक गर्दै आएको छ। आर सिरिजमा तुलनात्मक रूपमा कम क्षमताको चिपसेट, कम क्यामेरा र ठूलो ब्याट्री प्रयोग हुने गरेको छ।
यदि यो दाबी सही सावित भएमा भारतले आगामी स्न्यापड्रागन ८ एलिट जेन ६ चिपसेटबाट चल्ने वानप्लस फोन नपाउनेछ। त्यसको सट्टा भारतमा स्न्यापड्रागन ८ एलिट जेन ५ वा भविष्यमा सार्वजनिक भएमा नन–एलिट स्न्यापड्रागन ८ जेन ६ प्रयोग हुने अनुमान गरिएको वानप्लस १६आर उपलब्ध हुनेछ।
जीएसएमएरिनाका अनुसार वानप्लसले हालै यूरोप र उत्तर अमेरिकाको बजारबाट पूर्ण रूपमा बाहिरिने निर्णय गरेकाले यस्तो कदम आश्चर्यजनक नहुने देखिन्छ। यो विशेषगरी उच्च मूल्यका फोनमा मुख्य रूपमा चीनमा केन्द्रित हुने कम्पनीको रणनीतिको अर्को कदम हुन सक्छ।
यसअघि पनि वानप्लसले भविष्यमा भारतीय बजारबाट बाहिरिन सक्ने दाबी गरिएका थिए। तर अहिलेसम्म यसको कुनै पुष्टि भएको छैन।
प्रकाशित: २९ भाद्र २०८३, सोमबार