हुन्डाई मोटरले २०२९ मा आफ्नै ड्राइभर–असिस्ट प्रणाली ल्याउने

  • Technology Khabar | २८ भाद्र २०८३, आईतवार
हुन्डाई मोटरले २०२९ मा आफ्नै ड्राइभर–असिस्ट प्रणाली ल्याउने

काठमाडौं ।

हुन्डाई मोटर ग्रुपले आफ्नै ड्राइभर–असिस्ट सफ्टवेयर प्रयोग भएका सवारीसाधन सन् २०२९ को अन्त्यतिर बजारमा ल्याउने भएको छ। यो यसअघि तय गरिएको समयभन्दा दुई वर्ष ढिलो हो। त्यसबीच प्रणालीको प्रयोग छिटो अघि बढाउन कम्पनीले एनभिडियाको प्रविधि प्रयोग गर्ने भएको छ।

दक्षिण कोरियाली सवारी निर्माता कम्पनीले अमेरिकी चिप निर्माता एनभिडियासँग साझेदारी गरी सन् २०२८ मा लेभल २+ र लेभल २++ का रूपमा चिनिने उन्नत ड्राइभर–असिस्ट प्रणाली (एडीएएस) भएका सवारीसाधन बजारमा ल्याउने हुन्डाईका एक कार्यकारीले बताएका छन्।

यस परिवर्तनले हुन्डाईले आफ्नै स्वचालित ड्राइभिङ सफ्टवेयर विकास गर्न सामना गरिरहेको चुनौती देखाएको छ। यो परियोजना यसअघि सन् २०२७ को अन्त्यतिर सार्वजनिक गर्ने योजना थियो। साथै, एनभिडियामाथि हुन्डाईको बढ्दो निर्भरताले पनि चिन्ता बढाएको छ।

यो ढिलाइका कारण स्वचालित ड्राइभिङ प्रविधिलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउने दौडमा हुन्डाई टेस्ला र चिनियाँ प्रतिस्पर्धीभन्दा थप पछाडि पर्न सक्ने चिन्ता बढेको छ।

“एनभिडियासँगको हाम्रो साझेदारी भनेको हाम्रो भविष्य पूर्ण रूपमा उनीहरूको हातमा छोड्नु होइन,” हुन्डाई मोटर ग्रुपका अध्यक्ष पार्क मिन–वुले सञ्चारमाध्यमसँगको छलफलमा भने।

पार्कका अनुसार हुन्डाईले एनभिडियासँग मिलेर प्रविधिको डिजाइन गर्नेछ। साथै, प्रणालीबाट प्राप्त डाटाको प्रयोग आफ्नै सफ्टवेयर प्लेटफर्म ‘एट्रिया’लाई तालिम दिन र सुधार गर्न गरिनेछ।

रोयटर्सका अनुसार जनवरीमा हुन्डाईमा आबद्ध भएका पार्क यसअघि एनभिडियाका कार्यकारी थिए। उनले हुन्डाई र एनभिडियाबीचको बढ्दो सहकार्यलाई नेतृत्व गरिरहेका छन्। उनको रणनीति उनका पूर्ववर्ती सोङ चाङ–ह्योनको भन्दा फरक छ। सोङले आफ्नै सफ्टवेयर विकासमा बढी जोड दिएका थिए र डिसेम्बरमा अचानक कम्पनीबाट बाहिरिएका थिए।

पार्कका अनुसार एनभिडियाको हाइपेरियन १० प्लेटफर्ममा आधारित हुन्डाईका सवारीसाधनमा सुरुमा महँगो लाइडार सेन्सर प्रयोग गरिने छैन। यसको सट्टा क्यामेरा, अल्ट्रासोनिक सेन्सर र राडार प्रयोग गरिनेछ।

तर हुन्डाईले लेभल ३ स्वचालित ड्राइभिङ प्रणालीका लागि लाइडार प्रयोग गर्ने विषयमा विचार गरिरहेको छ। लेभल ३ प्रणालीले निश्चित अवस्थामा चालकले हातले स्टेयरिङ समातिरहनु नपर्ने गरी सवारी चलाउन अनुमति दिन्छ।

“वास्तविक रूपमा सुरक्षा सुनिश्चित गर्न सेन्सरमा दोहोरो व्यवस्था हुनु महत्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ। एउटा सेन्सरले काम नगरे पनि अन्य सेन्सरले सुरक्षित रूपमा सञ्चालन गर्न सक्ने हुनुपर्छ,” पार्कले भने। उनले लेभल ३ प्रणाली व्यावसायिक रूपमा कहिले ल्याइने भन्ने समयसीमा भने बताएनन्।

हुन्डाई र उसको सहायक कम्पनी किया कर्पोरेसन विश्वको तेस्रो ठूलो सवारी निर्माता समूहमा पर्छन् र उनीहरूले वार्षिक ७० लाखभन्दा बढी सवारीसाधन बिक्री गर्छन्।

पार्कका अनुसार यी कम्पनीहरूले आफ्नो विश्वव्यापी सवारीसाधनको ठूलो संख्याबाट डाटा संकलन गरी स्वचालित ड्राइभिङ प्रविधिको तालिममा प्रयोग गर्ने योजना बनाएका छन्। हुन्डाईले सन् २०३३ सम्ममा संकलित ड्राइभिङ डेटाको हिसाबले प्रतिस्पर्धीलाई उछिन्ने अपेक्षा गरेको छ।

हुन्डाई मोटर ग्रुपले स्वचालित ड्राइभिङ, कृत्रिम बुद्धिमताका डेटा सेन्टर तथा हुन्डाईको स्वामित्वमा रहेको बोस्टन डाइनामिक्सले विकास गरिरहेका मानवाकार रोबोटलगायत क्षेत्रमा एनभिडियासँगको सहकार्य थप विस्तार गरिरहेको छ।

‘लेभल २+’ ले सामान्यतया राजमार्गमा काम गर्ने थप क्षमतायुक्त ड्राइभर–असिस्ट प्रणालीलाई जनाउँछ भने ‘लेभल २++’ प्रणालीले टेस्लाको फुल सेल्फ–ड्राइभिङ प्रणालीजस्तै जटिल सहरी सडकमा पनि सवारी सञ्चालन गर्न सक्छ। दुवै प्रणालीमा भने चालकको निगरानी आवश्यक हुन्छ।

प्रकाशित: २८ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार