ओप्पो फाइन्ड एक्स१० सिरिज यही महिना सार्वजनिक हुने पुष्टि, डिजाइन सार्वजनिक

  • Technology Khabar | २४ भाद्र २०८३, बुधबार
ओप्पो फाइन्ड एक्स१० सिरिज यही महिना सार्वजनिक हुने पुष्टि, डिजाइन सार्वजनिक

काठमाडौं ।

ओप्पोले आफ्नो फाइन्ड एक्स१० फ्ल्यागसिप सिरिज यही महिना चीनमा सार्वजनिक हुने पुष्टि गरेको छ। कम्पनीले आगामी फोनबारे केही जानकारी सार्वजनिक गर्दै यसको डिजाइनको झलकसमेत देखाएको छ।

ओप्पोका कार्यकारी झुओ शिजीले वीबोमा पोस्ट गर्दै फाइन्ड एक्स१० र फाइन्ड एक्स१० प्रो म्याक्सको पछाडिको डिजाइन र क्यामेरा क्षमताबारे जानकारी दिएका छन्। फोनको पछाडिको क्यामेरा मोड्युल हालै सार्वजनिक भएका लिक भएका रेन्डरसँग मिल्दोजुल्दो देखिएको छ।

कार्यकारीका अनुसार आगामी फ्ल्यागसिप फोनमा नयाँ ‘ह्यासलब्लाड अल्ट्रा-क्लियर नेटिभ क्यामेरा’ हुनेछ। यसले प्राकृतिक रङ, अझ स्पष्ट तस्बिर तथा वास्तविकजस्तो प्रकाश र छायाँ उपलब्ध गराउने दाबी गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

ओप्पो फाइन्ड एक्स१० मा तीनवटा रियर क्यामेरा हुनेछन्, जसमा दुईवटा २०० मेगापिक्सेलका सेन्सर हुने पुष्टि भएको छ। त्यस्तै, फाइन्ड एक्स१० प्रो म्याक्समा तीनवटै २०० मेगापिक्सेलका रियर क्यामेरा हुनेछन्। यी क्यामेरा प्रणाली ओप्पो र ह्यासलब्लाडले संयुक्त रूपमा विकास गरेका हुन्।

आगामी फोनमा ओप्पोको दोस्रो पुस्ताको ‘डान्सिया कलर रिप्रोडक्शन लेन्स’ पनि प्रयोग हुनेछ। यो विशेष कलर सेन्सर हो, जसले २४ वटा स्याम्पलिङ च्यानल र १५ईभी सम्मको डाइनामिक रेन्जलाई समर्थन गर्छ। क्यामेरा प्रणालीमा ओप्पोको ‘लुमो कलर साइन्स’ प्रविधिको पनि प्रयोग हुनेछ।

ओप्पोका कार्यकारीले आगामी दिनमा यी फोनबारे थप जानकारी सार्वजनिक गरिने बताएका छन्। फाइन्ड एक्स१० सिरिजमा नयाँ तियान्मा ओएलईडी डिस्प्ले प्रयोग हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २४ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार