काठमाडौं ।
गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ।
बाढीले रसुवागढी र बेत्रावतीमा एक/एक गरी दुईवटा ओएलटी तथा रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँचवटा एफडीसी मा क्षति पुर्याएको थियो। बाढीका कारण करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल समेत बगाउँदा उक्त क्षेत्रका कुल १ हजार ५४४ एफटीटीएच लाइन पूर्ण रूपमा प्रभावित भएका थिए।
विपद् लगत्तै नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोत–साधन परिचालन गरी मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको थियो। हालसम्म प्रभावितमध्ये १ हजार ९३ वटा एफटीटीएच लाइन पुनःसञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
यससँगै पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन्न भएको हो। बाँकी रहेका लाइनहरू भने सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको स्थिति, प्राविधिक सम्भाव्यता तथा ग्राहकको मागलाई आधार बनाएर क्रमशः सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ।
प्राकृतिक विपद्को विषम परिस्थितिमा सेवाग्राहीलाई सकेसम्म छिटो गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको टेलिकमले जनाएको छ।
प्रकाशित: २४ भाद्र २०८३, बुधबार