एआईको बढ्दो माग सँगै दक्षिण कोरियाको आर्थिक वृद्धि अनुमानभन्दा बढी

  • Technology Khabar | १२ कार्तिक २०८३, बिहीबार
एआईको बढ्दो माग सँगै दक्षिण कोरियाको आर्थिक वृद्धि अनुमानभन्दा बढी
An illustrative image created by MAI-Image-2.5-Flash via Bing.com

काठमाडौं ।

कृत्रिम बुद्धिमत्ता (एआई) मा प्रयोग हुने चिपको माग बढेसँगै दक्षिण कोरियाको अर्थतन्त्रले जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा अनुमानभन्दा निकै तीव्र वृद्धि गरेको छ।

दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरिया ले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार, देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा १ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिको तुलनामा भने अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार भएको हो।

टेलिग्राफका अनुसार, बैंक अफ कोरियाले यसअघि अगस्टमा तेस्रो त्रैमासिकमा जीडीपी ०.३ प्रतिशतले मात्रै वृद्धि हुने अनुमान गरेको थियो।

केन्द्रीय बैंकका अनुसार, दक्षिण कोरियाको जीडीपीमा करिब ४५ प्रतिशत योगदान रहेको निर्यात अघिल्लो त्रैमासिकको तुलनामा २.३ प्रतिशतले बढेको छ। सेमिकन्डक्टर चिप, मेसिनरी तथा विद्युतीय उपकरणको माग बढ्दा निर्यातमा वृद्धि भएको हो।

पछिल्लो नतिजाले दक्षिण कोरियाको अर्थतन्त्र एक दशकभन्दा लामो अवधिपछि सबैभन्दा ठूलो आर्थिक विस्तार हासिल गर्ने दिशामा अघि बढेको देखाएको छ।

दक्षिण कोरियाका अर्थमन्त्री ली ह्युङ इलले यसै महिनाको सुरुवातमा सन् २०२६ मा आर्थिक वृद्धि ३.४ देखि ३.६ प्रतिशतसम्म पुग्ने अपेक्षा गरेका थिए। यो वृद्धि कोभिड–१९ महामारीको अवधिलाई छाडेर सन् २०११ यताकै उच्च हुने अनुमान गरिएको छ।

सन् २०२५ मा दक्षिण कोरियाको अर्थतन्त्र १ प्रतिशतले मात्रै विस्तार भएको थियो। यो महामारीपछिकै सबैभन्दा सुस्त आर्थिक वृद्धि थियो।

एसियाको चौथो ठूलो अर्थतन्त्र दक्षिण कोरियाले एआर्एको बढ्दो प्रयोगबाट लाभ लिइरहेको छ। विश्व बजारमा मेमोरी चिपको अभाव भइरहेका बेला एआई प्रविधिका लागि आवश्यक चिपको माग बढेको हो।

दक्षिण कोरिया विश्वका तीन ठूला मेमोरी चिप उत्पादकमध्ये दुई कम्पनी एसके हाइनिक्स र सामसङ इलेक्ट्रोनिक्स को मुख्यालय रहेको देश हो।

यी दुई कम्पनीले संयुक्त रूपमा विश्वको हाई–ब्यान्डविथ मेमोरी चिप बजारको करिब ८० प्रतिशत र डाइनामिक र्‍यान्डम एक्सेस मेमोरी बजारको करिब ६० प्रतिशत हिस्सा नियन्त्रण गर्छन्।

कोरिया कस्टम्स सर्भिसका अनुसार, दक्षिण कोरियाको निर्यात गत वर्षको सेप्टेम्बरको तुलनामा यस वर्षको सेप्टेम्बरमा ८३.५ प्रतिशतले बढेर १ खर्ब २० अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ। कुल निर्यातमध्ये झन्डै आधा हिस्सा चिपको रहेको छ।

प्रकाशित: १२ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...