काठमाडौं ।
राष्ट्रिय परिचयपत्र (एनआईडी) अपडेट नगरे २४ घण्टाभित्र मोबाइल बैंकिङ सेवा बन्द हुने भन्दै ग्राहकलाई पठाइएको शंकास्पद सन्देशमार्फत ठगी गर्ने प्रयास भइरहेको पाइएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार साइबर अपराधीहरूले बैंकको नाम प्रयोग गर्दै ग्राहकलाई एसएमएस पठाएर एनआईडीसम्बन्धी विवरण अपडेट गर्न भन्दै शंकास्पद लिंकमा क्लिक गर्न लगाउने प्रयास गरेका छन्।
पछिल्लो समय नबिल बैंकका ग्राहकलाई लक्षित गरी यस्तै फिसिङ लिंकमार्फत संवेदनशील विवरण चोरी गर्ने प्रयास भएको रिपोर्ट सार्वजनिक भएको छ।
यस्ता सन्देशमा ‘राष्ट्रिय परिचयपत्र लिंक नभएको कारण तपाईंको मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुनेछ’ भन्दै तत्काल लिंकमा गएर विवरण अपडेट गर्न दबाब दिइएको छ।
साइबर ब्यूरोले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न तथा अनलाइनमार्फत प्राप्त हुने यस्ता सन्देशको विश्वास नगर्न आग्रह गर्दै आएको छ। ब्यूरोका अनुसार बैंकिङ वा डिजिटल वालेटसम्बन्धी खातामा समस्या देखिएको भन्दै लिंकमार्फत विवरण प्रमाणीकरण गर्न लगाउने प्रवृत्ति फिसिङ ठगीको एउटा स्वरूप हो।
ब्यूरोले बैंक वा सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट, एप वा आधिकारिक सम्पर्क माध्यमबाट मात्र सूचना यकिन गर्न सुझाव दिएको छ। कुनै पनि व्यक्तिलाई पासवर्ड, ओटीपी, कार्ड विवरण वा अन्य संवेदनशील जानकारी नदिन पनि आग्रह गरिएको छ।
साइबर ठगीमा परेको वा शंकास्पद गतिविधि देखिएमा नेपाल प्रहरी साइबर ब्यूरोमा सम्पर्क गर्न सकिनेछ। ब्यूरोले सामान्य सोधपुछका लागि टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ।
प्रकाशित: ८ भाद्र २०८३, सोमबार