क्यालिफोर्नियाका राजमार्गमा सेल्फ ड्राइभिङ ट्रकको परीक्षण सुरु

  • Technology Khabar | १ भाद्र २०८३, सोमबार
क्यालिफोर्नियाका राजमार्गमा सेल्फ ड्राइभिङ ट्रकको परीक्षण सुरु
तस्बिर: टेकक्रञ्च

काठमाडौं ।

सेल्फ ड्राइभिङ ट्रक विकास गरिरहेका दुई कम्पनी औरोरा इनोभेसन र कोडियाक एआईले क्यालिफोर्नियाका सार्वजनिक सडकमा स्वचालित सवारी प्रविधिको परीक्षण गर्न अनुमति पाएका छन्।

क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेहिकल्स (डीएमभी) बाट अनुमति पाएसँगै कोडियाकले परीक्षण सुरु गरिसकेको छ।

कोडियाकले क्यालिफोर्नियामा केही परीक्षण ट्रकबाट काम सुरु गरेको जनाएको छ। कम्पनीले मुख्य रूपमा आफ्नो माउन्टेन भ्युस्थित कार्यालय आसपास परीक्षण गर्नेछ।

टेकक्रञ्चका अनुसार दुवै कम्पनीले यसै वसन्तमा क्यालिफोर्निया डीएमभीमा परीक्षण अनुमतिका लागि आवेदन दिएका थिए। डीएमभीले गत अप्रिल २८ मा स्वीकृत गरेको नयाँ नियमले १० हजार पाउन्डभन्दा बढी तौल भएका चालकविहीन सवारीलाई सार्वजनिक सडकमा परीक्षण गर्न लगाइएको प्रतिबन्ध हटाएको थियो। नयाँ नियमले कम्पनीलाई भारी स्वचालित सवारीको परीक्षण र भविष्यमा व्यावसायिक सञ्चालनका लागि नियामकीय बाटोसमेत खुला गरेको छ।

डीएमभीका अनुसार औरोरा र कोडियाकले सुरक्षा, बीमा, सवारी दर्ता, सुरक्षा चालकको योग्यता लगायत अनुमति प्राप्त गर्न आवश्यक मापदण्ड पूरा गरेका छन्।

यद्यपि परीक्षणका क्रममा चालकविहीन ट्रकमा पनि मानव सुरक्षा अपरेटर अनिवार्य रूपमा चालकको सिटमा रहनुपर्नेछ। त्यस्तै, २५ माइल प्रतिघण्टा वा त्यसभन्दा कम गति सीमा तोकिएका सडकमा परीक्षण गर्न प्रतिबन्ध लगाइएको छ। तर गन्तव्यबीचको “प्रत्यक्ष मार्ग”मा भने त्यस्ता सडक प्रयोग गर्न सकिनेछ।

यी प्रतिबन्धका बाबजुद क्यालिफोर्नियाका राजमार्गमा सेल्फ ड्राइभिङ ट्रक सञ्चालन गर्ने योजनाको विरोध भइरहेको छ।

गत साता टिमस्टर्स क्यालिफोर्नियाले राज्यको डीएमभीविरुद्ध मुद्दा दायर गरेको थियो। सार्वजनिक सडकमा सेल्फ ड्राइभिङ ट्रक सञ्चालन गर्न अनुमति दिनुअघि त्यसको सम्भावित आर्थिक प्रभाव अध्ययन गरी सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था डीएमभीले पालना नगरेको आरोप संघले लगाएको छ।

अलामेडा काउन्टीको स्टेट सुपेरियर कोर्टमा दायर मुद्दामा सडक प्रयोगकर्ताको सुरक्षामा पर्ने जोखिमबारे पनि डीएमभीले पर्याप्त विचार नगरेको आरोप लगाइएको छ।

स्वचालित सवारी विकास गरिरहेका कम्पनीका लागि नयाँ नियमले आफ्नै राज्यमा प्रविधि परीक्षण र भविष्यमा व्यावसायिक सञ्चालन गर्ने बाटो खोलेको छ।

औरोरा र कोडियाक दुवै क्यालिफोर्नियामा आधारित कम्पनी हुन्। तर भारी स्वचालित ट्रकमा लगाइएको प्रतिबन्धका कारण उनीहरूले हालसम्म मुख्य रूपमा टेक्सासमा परीक्षण र व्यावसायिक सञ्चालन गर्दै आएका थिए।

औरोराले सन् २०२५ को मेमा टेक्सासमा सेल्फ ड्राइभिङ ट्रक सेवा सुरु गरेको थियो। कम्पनीले सुरुवातमा डलासदेखि ह्युस्टनसम्मको मार्गमा सेवा सञ्चालन गरेको थियो। त्यसपछि फोर्ट वर्थ–एल पासो, एल पासो–फिनिक्स, फोर्ट वर्थ–फिनिक्स तथा लारेडो–डलासलगायतका मार्गमा सेवा विस्तार गरेको छ।

कोडियाकले सन् २०२५ को जनवरीमा पश्चिम टेक्सासको दुर्गम पर्मियन बेसिन क्षेत्रमा अफ–रोड वातावरणमा चालकविहीन ट्रकको व्यावसायिक सञ्चालन सुरु गरेको थियो। त्यसपछि कम्पनीले डलास र ह्युस्टनबीचको मार्गसहित राजमार्गमा चालकविहीन ट्रक सञ्चालन विस्तार गरेको छ।

प्रकाशित: १ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...