पेपल बिक्रीका विषयमा स्ट्राइप र एडभेन्टसँग तीव्र वार्ता चल्दै

  • Technology Khabar | १ भाद्र २०८३, सोमबार
पेपल बिक्रीका विषयमा स्ट्राइप र एडभेन्टसँग तीव्र वार्ता चल्दै

काठमाडौं ।

फिनटेक कम्पनी पेपलका प्रमुख कार्यकारी अधिकृत एनरिके लोरेसको कम्पनी सुधार योजनामा पेपल आफैंलाई बिक्री गर्ने विकल्प पनि समावेश हुन सक्ने देखिएको छ।

द वाल स्ट्रिट जर्नलका अनुसार स्ट्राइप र निजी इक्विटी कम्पनी एडभेन्टले जुलाईमा पेपललाई प्रतिकित्ता ६०.५० डलरमा किन्न प्रस्ताव गरेका थिए। उक्त सम्झौता भए पेपालको मूल्य ५३ अर्ब डलर हुने थियो।

पेपलले त्यतिबेला प्रस्ताव अस्वीकार गरेको थियो। तर वार्ता भने रोकिएको थिएन। जर्नलले नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै नयाँ रिपोर्टमा आगामी केही सातामै सम्झौता हुन सक्ने जनाएको छ।

टेकक्रञ्चका अनुसार पेपलले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ। स्ट्राइपका प्रवक्ताले भने कम्पनीले “हल्ला वा अनुमानबारे टिप्पणी नगर्ने” बताएका छन्।

कम्पनीलाई कमजोर हुँदै गएको अवस्थाबाट बाहिर निकाल्न लोरेसले प्रयास गरिरहेका बेला पेपालको बिक्रीसम्बन्धी वार्ता भइरहेको हो।

लोरेस मार्चमा पेपलको प्रमुख कार्यकारी अधिकृत बनेका थिए। त्यसअघि उनले एचपीमा लामो समय काम गरेका थिए। अप्रिलमा लोरेसले कम्पनी सुधार योजनाअन्तर्गत व्यवस्थापन तहमा परिवर्तन गर्नुका साथै व्यवसायलाई तीनवटा सञ्चालन मोडलमा विभाजन गरेका थिए। यसमा चेकआउट सोलुसन र पेपाल, उपभोक्ता वित्तीय सेवा तथा भेन्मो, र भुक्तानी सेवा तथा क्रिप्टो समावेश छन्।

त्यसको एक महिनापछि लोरेसले लगानीकर्तालाई पेपालले आफ्ना आधारभूत पक्षमा पुनः केन्द्रित हुने बताएका थिए। त्यसमा “फेरि प्रविधि कम्पनी बन्ने” विषय पनि समावेश थियो।

पेपलको सुधार योजनामा लागत घटाउने योजना पनि छ। यसअन्तर्गत आगामी दुईदेखि तीन वर्षमा कम्पनीको कर्मचारी संख्या २० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ।

पेपल सन् १९९८ मा स्थापना भएको थियो। यसको स्थापनामा पछि सिलिकन भ्यालीका चर्चित व्यक्तित्व बनेका पिटर थिल, एलन मस्क, म्याक्स लेभचिन, लुक नोसेक लगायतको सहभागिता थियो। ई–कमर्समा आएको तीव्र वृद्धिका कारण महामारीको समयमा ठूलो विस्तार गरेको पेपाल पछिल्ला वर्षमा भने कठिन अवस्थामा पुगेको छ।

प्रकाशित: १ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...